खाडाचक्रमा सशक्तीकरण अभिमुखिकरण कार्यक्रम सम्पन्न

कालिकोट - कालिकोटको खाडाचक्र नगरपालिकामा महिला, युवा र बालबालिकाको सशक्तीकरणका लागि अभिमुखिकरण कार्यक्रम सम्पन्न भएको छ । एइआईएन लक्जेमबर्गको साझेदारी, सोसेक नेपालद्वारा कालिकोटमा सञ्चालित आधार परियोजनाको सहजीकरणमा महिला, युवा र बालबालिकाको सशक्तीकरणका लागि विविध अभिमुखिकरण कार्यक्रमहरू भएका हुन् ।
खाडाचक्र नगरपालिका कार्यपालिका सदस्य देवी नेपालीको अध्यक्षतामा आयोजित कार्यक्रममा रोजगारीका अवसर र विचार आदानप्रदानमा केन्द्रित गरी गठित महिला समूह, युवा क्लब तथा सञ्जालका सदस्यहरूसँग संवाद कार्यक्रम सञ्चालन गरिएको थियो । सोही अवसरमा श्री सुभ बालविकास केन्द्रमा बालबालिकाका लागि शैक्षिक सामग्रीसमेत वितरण गरिएको आधार परियोजना कालिकोटले जनाएको छ ।
त्यस्तै खाडाचक्र नगरपालिका वडा नं - २ मा घरदैलो कार्यक्रमका माध्यमबाट महिला हिंसा, छाउपडी प्रथा तथा बालविवाहसम्बन्धी सचेतनामूलक सन्देश प्रदान गरिएको छ । कार्यक्रममा सोसेक नेपालद्वारा सञ्चालित बाल हेल्पलाइन टोल–फ्री नम्बरसमेत जानकारी दिइएको थियो ।
यसैबीच, दैलेखको भैरवी गाउँपालिकाको समन्वय तथा सोसेक नेपालको आयोजनामा वडा नं ६ मा अभिमुखिकरण कार्यक्रम सम्पन्न गरिएको छ । ‘शुसासन बाल क्लब’ की अध्यक्ष गरिमा गुरुको अध्यक्षतामा सम्पन्न उक्त कार्यक्रममा स्थानीय सरकार, गैरसरकारी संस्था तथा निजी क्षेत्रबाट प्रदान गरिएका सेवा तथा सुविधाबारे बालबालिका र महिलाहरूसँग खुला छलफल गरिएको थियो ।
कार्यक्रममा स्थानीय सरकारको आवश्यकता, एनजिओहरूले महिलाहरू तथा बालबालिकालाई दिएका अधिकार र सेवा, साथै महिला अधिकार अन्तर्गत समेटिनुपर्ने विषयहरूमा समेत व्यापक छलफल गरिएको थियो ।
प्रतिक्रिया