हुम्ला विपद् घटनाः तत्काल राहत र उद्धारका लागि आग्रह

काठमाडौँ – सांसदहरुले हुम्लास्थित नाम्खा गाउँपालिका–६ तिलगाउँमा एक्कासी आएको लेदोसहितको पहिरोका कारण प्रभावितलाई तत्काल राहत र उद्धारका पहल गर्न सरकारलाई आग्रह गर्नुभएको छ ।
प्रतिनिधिसभाको आजको बैठकको शून्य समयमा राहत र उद्धारमा ढिलासुस्ती भइरहेको भन्दै समयमा नै राहत तथा पुनःउद्धार गर्नका लागि उहाँहरुले ध्यानाकर्षण गर्नुभएको हो ।
सांसद ज्ञानबहादुर शाहीले हुम्लामा गएको लेदोसहितको पहिराका कारण पीडित भएका जनतालाई अहिलेसम्म उद्धार नगरिएको भन्दै चाँडोभन्दा चाँडो उद्धार गर्नका लागि आग्रह गर्नुभयो । “पहिरो गएको आज पाँच दिन नाघिसक्दा पनि राहतको कुनै टुङ्गो छैन । मन्त्री र नेता अनावश्यक हेलिकप्टरमा अरू बेलामा हिँड्न सक्ने तर जनताको दुःखमा चाहिँ हेलिकप्टर किन प्रयोग हुँदैन रु कर्णालीको जनतालाई अत्याचार गर्न बन्द गरियोस्,” उहाँले भन्नुभयो ।
सांसद सूर्यकुमारी श्रेष्ठले पनि हुम्लामा गएको पहिरो पीडितलाई समयमा नै राहतको व्यवस्था गर्नका लागि आग्रह गर्नुभयो । सांसद डा स्वर्णिम वाग्लेले तनुहँमा बन्दै गरेको दोस्रो जलाशययुक्त जलविद्युत् आयोजना निर्माणमा ढिला गर्न नहुने बताउनुभएको छ ।
सांसद सीताकुमारी रानाले तीन दिन वर्षाको सम्भावना रहेकाले यसबाट हुने क्षतिबाट बच्न सर्वसाधरणलाई आग्रह गर्दै पूर्वसूचना प्रणाली प्रभावकारी बनाउन आग्रह गर्नुभएको छ ।
सांसद सीता मिजारले सरकारी प्रणालीलाई विद्युतीकरण गर्न जरुरी रहेको बताउनुभयो । सांसद सुनिता बरालले नेपालको आर्थिक विकासमा सूचना प्रविधिको विकासलाई प्राथमिकतामा राख्नुपर्ने बताउनुभयो । सांसद सुमना श्रेष्ठले मिटरब्याजपीडितलाई समयमा नै न्याय दिनुपर्ने र पीडितको समस्या समाधान गर्नुपर्नेमा जोड दिनुभयो ।
सांसद सुशीला सिर्पाली ठकुुरीले विदेश जाने संख्या बढिरहेको भन्दै स्वदेशमा नै रोजगारीको व्यवस्था गर्नुपर्नेमा जोड दिनुभयो । सांसद सुशीला श्रेष्ठले सबै सुशासन कायम नगर्ने कर्मचारीलाई कारबाहीको दायरामा ल्याउनका लागि सुझाव दिनुभयो भने सांसद सुहाङ नेम्वाङले योजना बनाउनुभन्दा पनि योजनाको प्रभावकारी कार्यान्वयन गर्नुपर्नेमा जोड दिनुभयो ।
सूर्यप्रसाद ढकालले विद्युत् प्राधिकरणको घाटाबारे यथार्थ सदनमा प्रस्तुत गर्नका लागि आग्रह गर्नुभयो । सांसद सूर्यबहादुर थापाले बजेट विनियोजनका क्रममा निर्वाचित प्रतिनिधिले ल्याएका योजना समाहित गर्न माग गर्नुभयो ।
सांसद हर्कमाया विश्वकर्माले झापाको बिर्तामोडमा भत्किएको पुल निर्माण हुन नसक्दा वर्षाको समयमा एम्बुलेन्ससम्म आवतजावत गर्न असहज हुने भन्दै समयमा नै निर्माण अगाडि बढाउन सरकारलाई आग्रह गर्नुभयो ।
सांसद हरि ढकालले राप्ती नगरपालिकामा बेथितिले सीमा नाघेको आरोप लगाउँदै नौ महिनामा चारजना अधिकृत परिवर्तन भई अहिले प्रमुख प्रशासकीय अधिकृतविहीन रहेको भन्दै तत्काल पठाउन माग गर्नुभयो ।
सांसद हेमराज राईले सगरमाथा संवादको सफल आयोजना गरेर वातावरणीय संरक्षणका लागि सामूहिक प्रतिबद्धताका लागि विश्वको ध्यानाकर्षण भएको बताउनुभयो । सांसद ज्ञानु बस्नेत सुवेदीले प्रि मनसनु सुरु भएसँगै लेदोसहितको पहिरो गएको भन्दै विपद्का घटना बढ्न सक्ने भन्दै उद्धारका लागि सरकारले केही तयारी गर्न नसकेको भन्दै बताउनुभयो ।
प्रतिक्रिया