दुल्लुमा खानेपानीको दिगोपनाका लागि संरचना सुदृढ बनाउने प्रतिबद्धता

दुल्लुमा खानेपानीको दिगोपनाका लागि संरचना सुदृढ बनाउने प्रतिबद्धता

दुल्लु – दैलेखको दुल्लु नगरपालिकामा सञ्चालित खानेपानी योजनाहरूको दिगोपनाका लागि स्थानीय सरकार, उपभोक्ता समिति र सरोकारवाला निकायहरूले सामूहिक प्रतिबद्धता व्यक्त गरेका छन् । हालै सम्पन्न खानेपानी तथा सरसफाइ योजनाका सरोकारवालाहरूको जवाफदेहिता सम्बन्धी सुचारुपना सम्मेलनमा योजनाको दीर्घकालीन सञ्चालन र गुणस्तरीय सेवा सुनिश्चित गर्न आवश्यक पहलहरूबारे गहन छलफल भएको थियो ।

कार्यक्रमकी प्रमुख अतिथि तथा कर्णाली प्रदेश जलस्रोत तथा ऊर्जा विकास मन्त्री विजया बुढाले स्वच्छ र सुरक्षित खानेपानी पाउनु नागरिकको मौलिक अधिकार भएकोमा जोड दिनुभयो । उहाँले भन्नुभयो, 'हामी स्वयं सचेत र उत्तरदायी बन्यौँ भने मात्र खानेपानी योजना सफल हुन्छ ।' मन्त्री बुढाले खानेपानी र सरसफाइका क्षेत्रमा संघ, प्रदेश र स्थानीय तहका साझेदारी कार्यक्रम र सीपमूलक नीतिहरू आवश्यक रहेको औँल्याउनुभयो  ।

 दुल्लुमा सञ्चालित खानेपानी योजनाहरूलाई दीर्घकालीन बनाउन महत्वपूर्ण कदम चालिने दुल्लु नगरपालिकाका नगरप्रमुख भरत रिजालले बताउनुभयो  । यसका लागि रुख काट्न रोक लगाउने, बाटो खन्ने कामलाई व्यवस्थित गर्ने र वृक्षारोपण गर्ने योजना रहेको उहाँले जानकारी दिनुभयो  । साथै, गुणस्तरीय पानी परीक्षणका लागि ल्याबको व्यवस्था समेत गरिएको रिजालको भनाइ थियो ।

त्यस्तै खानेपानी बोर्डका अध्यक्ष भागवत हमालले लिफ्टिङ योजनाहरूमा प्राविधिक समस्या रहेको स्वीकार्दै मोटरहरू बारम्बार बिग्रिने समस्या प्रमुख चुनौतीका रूपमा रहेको बताउनुभयो  । आगामी दिनमा यी समस्या समाधानका लागि नयाँ योजना ल्याउने तयारी भइरहेको उहाँले भन्नुभयो । दुल्लु नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत तिलक विकले आगामी दिनमा खानेपानी व्यवस्थापन बोर्डलाई थप सशक्त बनाउँदै सेवा सुधार गरिने प्रतिबद्धता व्यक्त गर्नुभयो  । कार्यक्रममा सासेक नेपालका सचिव ललिता भण्डारीले खानेपानी योजनालाई सशक्त र खानेपानीको योजना दिगोपनाको लागि स्वयम उपभोक्ता नै अग्रसर हुनुपर्ने बताउँनु भयो ।

गुनासो समाधानका लागि ‘हेलो धारा’ सेवा
दुल्लु नगरपालिका १३ वटा वडामा रहेका खानेपानी योजनाको सुचारुपना तथा मर्मत सम्भारका लागि दुल्लु खानेपानी ब्यबस्थापन बोर्डको मातहतमा रहने गरि “हेल्लो धारा” परियोजना संचालनमा रहेको छ ्र खानेपानी योजनाको सुचारुपना तथा मर्मत सम्भार सम्बन्धि समस्या भएमा ९८५८०३०२६४ नम्बरमा फोन गरेर गुनासो तथा समस्या राख्न सकिने र तुरुन्तै समाधानको पहल हुने जानकारी हेल्भेटास नेपालका सुशासन बिज्ञ अक्कल शाहाले जानकारी दिनु भयो ।
 

घण्टौँ हिँडेर पानी बोक्नुपर्ने बाध्यताको अन्त्य

छहरेखोला सोलार लिफ्ट खानेपानी योजनाकी अध्यक्ष मधु उपाध्यायले विगतमा पानी ल्याउन घण्टौँ उकालो यात्रा गर्नु पर्ने र धारामा पुगेपछि पनि पालो कुर्नुपर्ने बाध्यता रहेको स्मरण गर्नुभयो । 'पहिले पानी ल्याउन पनि घण्टौँ हिँडेर र लाइन लागेर ल्याउनुपर्थ्यो । त्यो समयमा अन्य खानेकुराको भन्दा पनि पिउनेपानीकै पिरलो हुन्थ्यो,' उहाँले विगतको कष्ट सुनाउँदै भन्नुभयो  ।

दुल्लु नगरपालिका–६ निवासी ६१ वर्षीय छविलाल रावलका अनुसार विगतमा आधा घण्टा टाढाबाट पानी बोक्नुपर्दा बालबालिका र महिलाहरू रातीसमेत पानी लिन जान बाध्य हुने अवस्था थियो । तर, अहिले पानी घरघरमै पुगेपछि समयको ठूलो बचत भएको अनुभव उहाँले सुनाउँनुभयो  ।

हाल छहरेखोला सोलार लिफ्ट खानेपानी योजना, दुल्लु ८ का अध्यक्ष मधु उपाध्यायका अनुसार केही धारामा हप्तामा ४–५ दिन मात्र पानी उपलब्ध भए पनि अधिकांश धारामा नियमित पानी आइरहेको छ। पानी सफा भए पनि फिल्टर गरेर मात्र सेवन गर्ने गरिएको उपाध्यायले बताउनुभयो  ।

 'एक घर एक धारा' नीतिअन्तर्गत मासिक २०० रुपैयाँ शुल्क लिने गरिएको र उठेको रकम कर्मचारी पारिश्रमिक तथा मर्मत सम्भार कोषमा खर्च हुने गरेको उहाँले जानकारी दिनुभयो ।

 दुवै उपभोक्ताले पछिल्लो समय खानेपानी समिति र ''हेलो धारा'' सेवा प्रभावकारी भएको र समस्यामा तत्काल समाधान हुने बताएका छन्।

दुल्लु नगरपालिका वडा नम्बर ५ स्थित बाहुनधारा खानेपानी योजनाका अध्यक्ष बालाराम रिजालले खानेपानीसम्बन्धी समस्याको समाधानका लागि समितिहरू स्थानीय सरकारको प्रत्यक्ष मातहत रहने व्यवस्था भए अझ प्रभावकारी हुने धारणा व्यक्त गर्नुभयो   ।

सम्मेलनमा सहभागी सरोकारवालाहरूले खानेपानी योजनामा जनसहभागिता, पारदर्शिता र उत्तरदायित्वपूर्ण व्यवहार आवश्यक रहेकोमा जोड दिएका थिए । साथै, उपभोक्ताको आवाजलाई सुनुवाइ हुने व्यवस्था हुनुपर्नेमा पनि उनीहरूले जोड दिएका छन् । 

साथै उक्क्त सुचारुपना सम्मेलनले ७ बुदे घोषणा समेत पारीत गरेको छ । दुल्लु नगरपालिकामा रहेका सबै खानेपानी समुह मध्ये नियमित समिति बैठक,मर्मत कोष बचत गरेका समुह मुल्यांकन गरी पुरस्कृत भएका छन । जस मध्ये प्रथम छहरेखोला सोलार लिप्ट खानेपानी योजना दुल्लु नपा ८ ले ५५ हजारको राशि पुरस्कार,द्धतिय दल्म मेहेलपानी खानेपानी योजना दुल्लु ८ ले ४५ हजार पुरस्कार,तृतिय पोखराखोला सोलार लिप्ट खानेपानी योजना दुल्लु १२ ले ३० हजार र सान्त्वना परस्कार बाहुनधारा खानेपानी तथा सरसफाइ उपभोत्ता समिति दुल्लु ५ ले २० हजार गरी पुरस्कृत भएका छन । 

प्रतिक्रिया