अपांगता भएका व्यक्तिका लागि जीवन उपयोगी सीप विकास तालिम सम्पन्न

दैलेख – दैलेखको दुल्लु नगरपालिकामा अपांगता भएका व्यक्तिहरुका लागि जीवन उपयोगी तथा व्यावसायिक सुधार सम्बन्धि तालिम सम्पन्न भएको छ । सि.बि.एम ग्लोबल नेपाल र सोसेक नेपालको साझेदारीमा सञ्चालित हातेमालो हाम्रो आवाज, हाम्रो सहभागिता परियोजनाको सहजीकरणमा अपांगता भएका व्यक्तिहरुलाई लक्षित गर्दै दुई चरणको सीप विकास तालिम सम्पन्न भएको हो ।
चार दिने पहिलो चरणमा जीवन उपयोगी सीपहरूमा प्रशिक्षण दिइयो भने दोस्रो चरणमा व्यवसाय सुरु र सुधारसम्बन्धी व्यावहारिक तालिम प्रदान गरिएको थियो। दुल्लु नगरपालिकामा गठन भएका अपांगता स्वावलम्बन समूहका ३२ जना सदस्यहरू तालिममा सहभागी भएका थिए ।
तालिममा प्रशिक्षक चेतलाल ढकाल, रोषनी बादी र ईश्वर रेग्मीले अपांगता तथा उद्यम विकास सम्बन्धी सैद्धान्तिक र व्यवहारिक विषयमा प्रशिक्षण दिनुभएको थियो । सहभागी तुल्सी नेपालीले यस्तो तालिमले आत्मनिर्भर बन्न मार्ग प्रशस्त गरेको बताउँदै आफू उद्यमशीलताको बाटोमा अघि बढ्ने प्रतिबद्धता जनाउनुभयो ।
अहिलेको अवस्थामा पनि हाम्रो समाजमा अपांगता भएका व्यक्तिप्रति पुरानो दृष्टिकोण विद्यमान रहेको सोसेक नेपालका कार्यकारी निर्देशक हिरासिंह थापाले बताउनुभयो । थापाले भन्नुभयो, “अझै पनि हाम्रो समाजमा अपांगता भएका व्यक्तिप्रति पुरानो दृष्टिकोण विद्यमान छ। हामीले सोच र व्यवहारमा आमूल परिवर्तन ल्याउनु आवश्यक छ ।”
अपांगता भएका व्यक्तिहरूको सामाजिक तथा आर्थिक सशक्तिकरणका लागि आगामी दिनमा अझ प्रभावकारी कार्यक्रम ल्याउने योजना रहेको कार्यक्रम संयोजक भिमबहादुर के.सी.ले जानकारी दिनुभयो ।
यस तालिमले सहभागीहरूमा आत्मविश्वास र उद्यमशीलता प्रवर्द्धन गर्दै उनीहरूलाई समाजमा आत्मनिर्भर नागरिकका रूपमा स्थापित गर्न सहयोग गर्ने अपेक्षा गरिएको छ।
प्रतिक्रिया