तिलगाउँ पहिरो  : स्थानीय त्रासमै दिन र रात काट्न बाध्य

विज्ञ टोली आउँदैछ, राहत सामाग्री पठाइसक्यौँ : प्रमुख जिल्ला अधिकारी

तिलगाउँ पहिरो  : स्थानीय त्रासमै दिन र रात काट्न बाध्य तस्बिर रातोपाटीबाट

काठमाडौँ -   हुम्लाको नाम्खा गाउँपालिका–६ तिलगाउँमा गएको भीषण पहिरोको एक हप्ता बितिसक्दा पनि स्थानीय बासिन्दा अझै पनि त्रासमै दिन काट्न बाध्य छन् । संघ र प्रदेश सरकारले राहतका लागि हेलिकप्टरमार्फत सामग्री पठाउने आश्वासन दिए पनि अहिलेसम्म व्यवहारिक कदम नचालिएको भन्दै पीडितहरूले आक्रोश पोखेका छन् ।

 पहिरोले तिलगाउँ जाने बाटो पूर्णरूपमा भत्काएपछि राहत तथा सामग्री ढुवानीमा ठुलो समस्या उत्पन्न भएको वडाध्यक्ष पाल्जोर तामाङले जानकारी दिनुभयो । “हेलिकप्टर आजै आउँछ भनिएको एक हप्ता बितिसक्यो, तर अहिलेसम्म केही आएको छैन,” तामाङले गुनासो गर्दै भन्नुभयो । उहाँका अनुसार, बस्तीमा तत्काल त्रिपाल र खानेपानीको व्यवस्थाको आवश्यकता रहे पनि ढुवानीका लागि वैकल्पिक मार्ग छैन । याकमार्गसमेत अवरुद्ध भएकाले मानिस वा पशु दुवैबाट राहत पुर्‍याउन कठिन भएको तामाङको भनाइ छ।

 रातभर खुलेआम स्थानमा सुत्नुपर्ने बाध्यता छ, जसले चिसो र स्वास्थ्यसम्बन्धी समस्या निम्त्याएको छ । बाढीले सबै खानेपानीका स्रोत बगाएपछि गाउँमा शुद्ध पिउने पानीसमेत उपलब्ध नभएको स्थानीयवासी कुण्डप फुर्वा लामाले बताउनुभयो  । “गाउँ नजिकै पानी त छ, तर ल्याउन पाइप छैन,” फुर्वाले भन्नुभयो ।

नाम्खा गाउँपालिका अध्यक्ष प्रेमबहादुर लामाले संघ र प्रदेश सरकारप्रति असन्तोष व्यक्त गर्दै केन्द्रबाट राहत आउने आशामा एक साता बितेको तर अन्ततः गाउँपालिकाले नै आफ्नै पहलमा राहत वितरण गरेको ज्वाला सन्देशलाई जानकारी दिनुभयो । “तिलगाउँको पीडा सुनाउँदै गर्दा टाउको दुखिसक्यो, तर माथिल्ला निकायले नसुनेझैं गरेका छन्,” उहाँले भन्नुभयो ।

यता, गृह मन्त्रालयका सूचना अधिकारी रविन्द्र शर्माले प्रमुख जिल्ला अधिकारीसँगको समन्वयमा काम भइरहेको बताउनुभयो । 'हामीले जिल्ला प्रशासनसँग निरन्तर समन्वय गरिरहेका छौँ,' उहाँले भन्नुभयो

जिल्ला प्रशासन कार्यालय हुम्लाका प्रमुख जिल्ला अधिकारी नारायण पाण्डेले स्थायी पुनर्स्थापनाको विषयमा प्राविधिक मूल्यांकनपछि मात्र निर्णय हुने जानकारी दिनुभयो । उहाँका अनुसार, विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका तीनजना विज्ञसहितको टोली काठमाडौंबाट हुम्ला आउँदैछ। मौसम प्रतिकूलताका कारण टोली नेपालगञ्जमै रोकिएको भए पनि भोलिसम्म हुम्ला आइपुग्ने तयारी रहेको छ।

पाण्डेले तिलगाउँका बासिन्दा अहिले बिहान र दिउँसो घरमा बसे पनि रातको समयमा त्रिपाल टाँगिएको विद्यालयमा शरण लिइरहेको जानकारी दिनुभयो । “घर पूरै भत्किएको छैन, तर रात परेपछि सुरक्षाका लागि विद्यालयमा बस्नुहुन्छ,” उहाँले भन्नुभयो ।

दुई दिनअघि करिब दुई किलोमिटर लामो पाइपलाइन जडान गरेर बस्तीमा शुद्ध खानेपानी उपलब्ध गराइएको प्रमुख जिल्ला अधिकारी पाण्डेले बताउनुभयो । साथै, खाद्यान्न तथा लत्ताकपडाको राहतसमेत प्रभावित क्षेत्रमा पठाइसकिएको उहाँको भनाई छ ।

प्रतिक्रिया