सांसद रानाको पहलमा वर्षौंदेखिको गुठी समस्या समाधानतर्फ

सांसद रानाको पहलमा वर्षौंदेखिको गुठी समस्या समाधानतर्फ

दैलेख -   दैलेख जिल्लामा लामो समयदेखि समाधान नखोजिएको गुठीसम्बन्धी जटिल समस्या अन्ततः समाधानतर्फ अग्रसर भएको छ ।

प्रतिनिधिसभा सदस्य सिता कुमारी रानाको निरन्तर पहल, प्रदेश र स्थानीय तहका जनप्रतिनिधि तथा सरोकारवालाहरूको सक्रिय सहभागिताका कारण वर्षौंदेखि अल्झिएको गुठी विवाद समाधानको चरणमा पुगेको हो ।

गुठी संस्थानका अनुसार दैलेख जिल्लामा अहिले दुई सयभन्दा बढी गुठीहरू दर्ता छन्, जसमा ८० प्रतिशतभन्दा बढी जग्गा विभिन्न मन्दिर, पञ्चकोशी क्षेत्रका पाँच मन्दिरहरूसँग सम्बन्धित गुठीका नाममा छन् ।

यस्ता गुठी जग्गाहरू परम्परागत रुपमा मठ–मन्दिरको नाममा दर्ता भए तापनि तीलाई अहिलेको परिवेशमा कुनैपनि विकास निर्माण वा अन्य प्रयोजनमा उपयोग गर्न नपाइने अवस्था छ। यसले गर्दा स्थानिय जग्गाधनीहरू प्रशासनिक झन्झट र आर्थिक समस्याको चपेटामा परेका थिए ।

गुठी जग्गामा हाल लगाइएको राजस्व दर रैकरको भन्दा २५० गुणा बढी रहेको जनगुनासो व्यापक रहेको छ। यति उच्च दरमा कर तिर्नुपर्ने र त्यस्तो जग्गा न त प्रयोग गर्न सकिने न त सजिलै विक्रि गर्न सकिने अवस्था हुँदा सर्वसाधारण गम्भीर अन्यायमा परेका थिए ।

२०७९ सालदेखि नै यस विषयमा माननीय सिता कुमारी रानाले पटक–पटक संघीय संसदमा आवाज उठाउँदै आउनु भएको थियो। त्यसक्रममा २०८० सालको जेष्ठ महिनामा २०८० माननिय सिता कुमारी राना सहित प्रदेश सांसद घनश्याम भण्डारी, गुठी संस्थानका अध्यक्ष शिवराम पण्डित, दुल्लु नगरपालिका प्रमुख भरत रीजाल, भैरवी गाउँपालिकाका जनप्रतिनिधिहरू, प्रमुख जिल्ला अधिकारी लगायत सरोकारवाला निकायहरू सम्मिलित टोलीले गुठीसम्बन्धी समस्याको स्थलगत अनुगमन समेत गरेका थिए ।

यसपछि सघन छलफल, सिफारिस र प्रक्रिया मार्फत समस्या समाधानका लागि नीति र कार्यान्वयनको तहमा ठोस पहल भएको हो । गुठी संस्थान, स्थानीय तह र जग्गाधनीहरू बीच वास्तविक समस्या बुझ्दै दीर्घकालीन समाधानका लागि सहमति प्रक्रियामा टुङ्गो लागेको छ।

माननीय सिता कुमारी रानाले आफ्नो भूमिकाप्रति सन्तुष्टि जनाउँदै भन्नु भयो, 'दैलेखका जनताको वर्षौंदेखिको पीडा सुनेर हामीले जुन निरन्तर प्रयास गर्‍यौं, त्यो अहिले सार्थक बन्न लागेको छ। जनताको समस्या समाधान गर्नु नै जनप्रतिनिधिको धर्म हो ।'

उहाँले यस पहलमा साथ दिने प्रदेश सांसद, स्थानीय तहका प्रमुख, प्रशासन र गुठी संस्थानलाई समेत धन्यवाद व्यक्त गर्नुभएको छ।


 

प्रतिक्रिया