पञ्चकोशी क्षेत्र सडकको बिजोग अवस्था, छैन स्थानीय सरकारको चासो

दैलेख – दैलेखको ऐतिहासिक तथा धार्मिक महत्व बोकेको पञ्चकोशी क्षेत्रको प्रमुख तीर्थस्थल शिरिस्थान मन्दिर जाने सडक वर्षा सुरु नहुँदै अवरुद्ध बन्न थालेपछि तीर्थयात्रीहरूलाई गन्तव्य पुग्न कठिनाइ भएको छ । धार्मिक पर्यटकहरूको प्रमुख गन्तव्यको रूपमा चिनिने यस मन्दिरमा दैनिकजसो भक्तजनहरूको आवागमन हुने गरे पनि सडक अवस्था भने दयनीय बन्दै गएको हो ।
शिरिस्थान मन्दिरमा अनवरत बलिरहने ज्वालाले स्थानीयहरूमा धार्मिक आस्था बढाउनुका साथै हरेक वर्ष हजारौँ आन्तरिक तथा बाह्य पर्यटक आकर्षित गर्छ । तर, यसको विकास र संरक्षणप्रति स्थानीय, प्रदेश वा संघीय सरकारको पर्याप्त चासो नदेखिएको मन्दिरका पूजारी गोकर्णनाथ योगी बताउँछन् ।
सवारीसाधन टिपरले तान्नुपर्ने बाध्यता
हालसालैको वर्षाले गर्दा मन्दिरसम्मको बाटो हिलाम्य बनेको छ । घाम लागेको समयमा धुलाम्य र पानी पर्दा हिलाम्मे हुने समस्याले गर्दा भक्तजनका सवारीसाधनहरू बीच बाटोमै फसेपछि टिपर प्रयोग गरी तान्नुपर्ने अवस्था आएको छ । स्थानीय सरकारहरूले हरेक वर्ष बजेट छुट्याए पनि सोचेअनुसारको पूर्वाधार विकास नहुनुमा अल्प बजेट र कार्यान्वयनको कमजोरी प्रमुख कारण हो ।
करीब १२ लाख ५० हजार रुपैयाँको लागतमा शिरिस्थान खोलामा निर्माण गरिएको काठे पुल गत भदौ २ गतेको बाढीले बगाएको थियो । बाढीले नष्ट भएको पुल पुनः निर्माण गर्न हालसम्म कुनै ठोस पहल नदेखिएको भन्दै मन्दिर व्यवस्थापन समितिका अध्यक्ष लक्ष्मीनाथ योगीले चिन्ता व्यक्त गर्नुभयो ।
अहिलेकै सामान्य वर्षाले पनि मन्दिर वरपरका सडकहरू छियाछिया र खण्डहर बन्न पुगेका छन् । यसले पञ्चकोशी तीर्थयात्रा क्षेत्रसम्मको यात्रा जोखिमपूर्ण बनाइरहेको छ । स्थानीय नागेन्द्रबहादुर थापाले संघ, प्रदेश र स्थानीय सरकारको समन्वयमा सडक सञ्जालको नियमित मर्मत र स्तरोन्नति गरी तीर्थयात्रु तथा पर्यटकहरूको सहज आगमन सुनिश्चित गर्न माग गर्नुभयो ।
यसैबीच, शिरिस्थान खोलामा बाढीले बगाएको पुल पुनःनिर्माणका लागि स्थलगत रिपोर्ट तयार पारिने क्रममै रहेको र नाविस्थान खोलामा नयाँ पुल निर्माण कार्य सुरु भइसकेको दुल्लु नगरपालिकाका नगरप्रमुख भरतप्रसाद रिजालले जानकारी दिनुभयो । उहाँले शिरिस्थान मन्दिर क्षेत्रमा आवश्यक पर्ने अन्य पूर्वाधार निर्माण कार्य दुल्लु र भैरवी नगरपालिकाको संयुक्त प्रयासमा अघि बढाइने बताउनुभयो ।
प्रतिक्रिया