खाडाचक्र–५ मा बाल केन्द्रित प्रकोप जोखिम न्यूनीकरण तालिम

कालिकोट – कालिकोटको खाडाचक्र नगरपालिकामा बाल केन्द्रित प्रकोप जोखिम न्यूनीकरण तालिम सम्पन्न भएको छ । खाडाचक्र वडा नम्बर –५ मा बाल केन्द्रित प्रकोप जोखिम न्यूनीकरणसम्बन्धी एक दिने तालिम सम्पन्न भएको हो ।
एइआईएन लक्जेम्बर्गको साझेदारी, खाडाचक्र नगरपालिकाको समन्वय तथा सोसेक नेपालद्वारा सञ्चालित आधार परियोजनाको सहजीकरणमा तालिम आयोजना गरिएको हो ।
वडा नम्बर –५ का वडा अध्यक्ष देउराम कामीको अध्यक्षतामा सञ्चालन भएको तालिममा वडा नं. १ देखि ५ सम्मका माध्यमिक विद्यालयका प्रधानाध्यापक, गठित महिला समूहका सदस्यहरू, बाल क्लबका प्रतिनिधिहरू, जिल्ला प्रहरी कार्यालयको महिला सेल, र विभिन्न तहका जनप्रतिनिधिहरूको सक्रिय सहभागिता थियो ।
तालिममा बालमैत्री दृष्टिकोणबाट विपद् जोखिम न्यूनीकरणका उपायहरू, विद्यालयस्तरीय तयारी, सुरक्षित संरचना निर्माण, समुदायको भूमिका, बालबालिकाको सहभागिता र सचेतनाका विषयमा बताइएको छ । सहभागीहरूले विपद्का बेला बालबालिकाको सुरक्षा र संवेदनशीलतालाई प्राथमिकतामा राख्दै व्यवहारिक रणनीति अपनाउनुपर्नेमा जोड दिएका थिए ।
कार्यक्रमले विद्यालय र समुदायस्तरमा विपद् पूर्वतयारी तथा जोखिम न्यूनीकरणमा बालबालिकाको सक्रिय सहभागिता अभिवृद्धि हुने अपेक्षा गरिएको आधार परियोजना कालिकोटले जनाएको छ ।
प्रतिक्रिया