भगवतीमाईमा पालिका स्तरीय बाल सञ्जाल गठन तथा बालभेला

भगवतीमाईमा पालिका स्तरीय बाल सञ्जाल गठन तथा बालभेला

दैलेख -  दैलेखको भगवतीमाई गाउँपालिकामा पालिका स्तरीय बाल सञ्जाल गठन तथा दुईदिने बालभेला सम्पन्न भएको छ।  उक्त कार्यक्रममा गाउँपालिका भरका विभिन्न बस्ती र विद्यालयबाट सहभागी भएका बालबालिकाहरूले आफ्ना सवाल, समस्या तथा जटिलताहरू प्रस्तुत गरेका थिए ।

बालभेलाको समापन सत्रमा हेमन्त रावतको अध्यक्षतामा १६ सदस्यीय पालिका स्तरीय बाल सञ्जाल गठन गरिएको छ । नवगठित बाल सञ्जालको तर्फबाट बालबालिकासम्बन्धी विविध चुनौतीहरूको समाधानका लागि तयार पारिएको १९ बुँदे मागपत्र पालिकाकी उपाध्यक्ष मिनाकुमारी खड्कालाई हस्तान्तरण गरिएको छ।

बाल सञ्जालको बैठकमा विद्यालय, टोल, बस्ती तथा समुदायस्तरमा देखिएका बाल अधिकारका समस्या, बाल हिंसा, शिक्षा, सुरक्षा, स्वास्थ्यलगायतका विषयमा गहन छलफल गरिएको थियो। सहभागीहरूले बालमैत्री पालिका निर्माणका लागि आवश्यक नीति, कार्यक्रम तथा बजेट सुनिश्चित गर्नुपर्नेमा जोड दिएका थिए ।

उक्त कार्यक्रम भगवतीमाई गाउँपालिका, सोसेक नेपाल दैलेख र सुसुवा परियोजनाको त्रिपक्षीय साझेदारीमा सम्पन्न गरिएको हो । कार्यक्रमको सहजीकरण सोसेक नेपालका बाल संरक्षण अधिकृत जनक अधिकारी, गाउँपालिकाको सामाजिक विकास शाखा प्रमुख विकास जिसी, महिला तथा बालबालिका शाखा प्रमुख सरस्वती पौडेल, सुसुवा परियोजनाका चक्र भण्डारी तथा सोसेक नेपालका शिक्षा अधिकृतले गर्र्नुभएको थियो  ।

मागपत्र ग्रहण गर्दै उपाध्यक्ष खड्काले बालबालिकाबाट उठाइएका १९ बुँदे सुझावहरूलाई गम्भीरतापूर्वक लिँदै पालिकाको आगामी आर्थिक वर्ष २०८२/८३ को नीति, कार्यक्रम तथा बजेटमा समावेश गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो ।

प्रतिक्रिया