कर्णालीलाई मुलुकको सबैभन्दा राम्रो प्रदेश बनाउन सकिन्छ : पूर्व मुख्यमन्त्री शाही

दैलेख - कर्णाली प्रदेशका पूर्व मुख्यमन्त्री तथा नेपाली कांग्रेस नेता जीवनबहादुर शाहीले कर्णालीलाई मुलुकको सबैभन्दा समृद्ध प्रदेश बनाउने सम्भावना रहेको बताउनुभएको छ । नेपाली कांग्रेस दैलेख क्षेत्र नं. २ द्वारा आयोजित सम्मेलनलाई सम्बोधन गर्दै उनले कर्णालीमा रहेको पेट्रोलियम पदार्थ, पर्यटन र जडीबुटीको अपार सम्भावनालाई उपयोग गर्न सके समृद्धिको ढोका खोलिने धारणा राख्नुभयो ।
शाहीले कर्णालीको दिगो विकासका लागि सबै राजनीतिक दलहरू एकताबद्ध भएर अघि बढ्नुपर्ने आवश्यकता औंल्याउनुभयो । “विकासमा संकुचित मानसिकताले कर्णाली पछि परेको छ, अब सोचमा परिवर्तन ल्याउनु जरुरी छ,” उहाँले भन्नुभयो ।
कार्यक्रममा उहाँले कर्णालीको असल छवि निर्माणका लागि सबै तहका जिम्मेवार व्यक्तिहरूको कार्यशैलीमा सुधार आवश्यक रहेको बताउनुभयो । “एउटै व्यक्तिको गलत कार्यशैलीले सम्पूर्ण कर्णालीप्रति नकारात्मक धारणा बन्न सक्छ,” उहाँले चेतावनी दिनुभयो ।
राजनीतिक अस्थिरताका कारण विकास अवरुद्ध भएको उल्लेख गर्दै शाहीले स्थायित्वका लागि जनमत निर्माणको खाँचो रहेको बताउनुभयो । साथै, पार्टी कार्यकर्तालाई अरूको लहडमा नलाग्न र आफ्नो राजनीतिक भविष्य सुरक्षित गर्न सुझाव दिए। “जनप्रतिनिधि सक्षम ढंगले अघि बढे, पार्टी स्वतः सशक्त बन्छ,” उहाँले जोड दिनुभयो ।
कार्यक्रममा सहभागी कर्णाली प्रदेशका सामाजिक विकास मन्त्री घनश्याम भण्डारीले मन्त्रालयका तर्फबाट शिक्षा, स्वास्थ्य, युवा तथा खेलकुद, महिला तथा बालबालिकालगायत सामाजिक क्षेत्रमा प्रभावकारी कार्यक्रम कार्यान्वयन गरिने प्रतिबद्धता जनाउनुभयो ।
मन्त्री भण्डारीले जनताको रचनात्मक सुझावलाई ग्रहण गर्दै नीति र कार्यशैलीमा सुधार ल्याउने प्रयास जारी रहेको पनि स्पष्ट पार्नुभयो । उहाँले कर्णालीको समग्र विकासका लागि पार्टी नेतृत्व र कार्यकर्ताको सक्रिय साथ अपरिहार्य रहेको धारणा व्यक्त गर्नुभयो ।
प्रतिक्रिया