कांग्रेसका नेता खड्काको निधनप्रति सांसद रानाद्वारा दुःख व्यक्त

कांग्रेसका नेता खड्काको निधनप्रति सांसद रानाद्वारा दुःख व्यक्त

नेपाली कांग्रेसका नेता गणेश बहादुर खड्काको निधनप्रति सांसद सिता कुमारी रानाद्वारा दुःख व्यक्त

दैलेख — नेपाली कांग्रेस दैलेखका संस्थापक सदस्य, पूर्व जिल्ला सभापति तथा पूर्व राज्य मन्त्री गणेश बहादुर खड्काको ८२ वर्षको उमेरमा निधन भएको छ।

उहाँको निधनप्रति प्रतिनिधिसभा सदस्य तथा कांग्रेस केन्द्रीय सदस्य सिता कुमारी रानाले गहिरो दुःख व्यक्त गर्नुभएको छ।

लामो समयदेखि फोक्सोसम्बन्धी समस्याबाट पीडित खड्काको निधन आज बिहान दैलेखको नारायण नगरपालिका–७, किमुगाउँस्थित आफ्नै निवासमा भएको हो।

नेता खड्का नेपाली कांग्रेसको स्थापनाकालदेखि नै लोकतन्त्रको स्थापनाका लागि संघर्षरत रहनुभएको एक सशक्त व्यक्तित्व हुनुहुन्थ्यो। पञ्चायत शासनकालमा उहाँले पटक–पटक जेल जीवन, प्रहरी हिरासत तथा यातनाको सामना गर्नुपरेको थियो । लोकतान्त्रिक आन्दोलनका दौरान उहाँले देखाएको त्याग र योगदान उल्लेखनीय रह्यो ।

नेता खड्काको पहलमा सुर्खेत–दैलेख मोटरबाटो निर्माण, विद्युत आपूर्ति तथा टेलिकम सञ्जालको विस्तार जस्ता महत्वपूर्ण पूर्वाधार विकासमा दैलेखले उल्लेखनीय उपलब्धि हासिल गर्न सफल भएको थियो।

सांसद रानाले शोक सन्देश जारी गर्दै भन्नुभयो, “नेपाली कांग्रेस दैलेखका पूर्वसभापति एवं पूर्वराज्यमन्त्री, नेपालको लोकतान्त्रिक आन्दोलनका अथक योद्धा गणेशबहादुर खड्काको निधनको खबरले मलाई अत्यन्त मर्माहत बनाएको छ। उहाँको निधनले नेपाली कांग्रेसले एक असल, निष्ठावान र बौद्धिक नेताको अपूरणीय क्षति व्यहोर्नु परेको छ।”

नेता खड्काको निधनले दैलेख मात्र होइन, समग्र नेपाली कांग्रेस र लोकतान्त्रिक आन्दोलनमा ठूलो क्षति पुगेको छ। उहाँप्रति श्रद्धाञ्जलि अर्पण गर्दै सांसद रानाले शोक सन्तप्त परिवारजनप्रति समवेदना व्यक्त गर्नुभएको छ ।

प्रतिक्रिया