भ्रष्टाचार नियन्त्रण र सुशासन प्रवर्द्धनका लागि अन्तरक्रिया कार्यक्रम

शुसासनका लागि उजुरी गरौं, दुख दिने नियतले होइन : जनप्रतिनिधि

भ्रष्टाचार नियन्त्रण र सुशासन प्रवर्द्धनका लागि अन्तरक्रिया कार्यक्रम

दैलेख - भ्रष्टाचार नियन्त्रण र सुशासन प्रवर्द्धनका लागि दैलेखमा जिल्ला स्तरिय अन्तरक्रिया कार्यक्रम गरिएको छ। अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय, सुर्खेतको आयोजनामा भएको कार्यक्रममा विभिन्न तहका सरोकारवालाबीच गहन छलफल र विचार विमर्श गरिएको थियो ।

कार्यक्रममा जिल्लाका सबै स्थानीय तहका जनप्रतिनिधि, सरकारी तथा गैरसरकारी निकायका कर्मचारी, सुरक्षा निकायका प्रमुख, नागरिक समाजका प्रतिनिधि तथा पत्रकार महासंघ दैलेखका पदाधिकारीहरूको उल्लेखनीय सहभागिता रहेको थियो ।

प्रमुख अतिथि तथा जिल्ला समन्वय समिति दैलेखका प्रमुख नवराज शाहीले सुशासनको आधार पारदर्शिता, जवाफदेहिता र नागरिक सहभागिता भएको उल्लेख गर्दै भन्नुभयो, “स्थानीय सरकार र संघ–संस्थाका कार्यक्रमहरू प्रभावकारी बनाउन आम नागरिक पनि समान रूपले उत्तरदायी छन्।”

 अख्तियारमा उजुरी गरेपछि अनुसन्धानमा ढिलाइ हुने गरेकोप्रति महावु गाउँपालिकाकी उपप्रमुख मञ्जु पाण्डेले चिन्ता व्यक्त गर्नुभयो । “कामको प्रकृति र प्रमाणसहित समयमै उजुरी परेमा तत्कालै फिल्डमा पुगेर अनुसन्धान गर्न सकिने भए पनि दुई–तीन वर्ष ढिलाइ हुँदा परिणामहीन बन्ने गरेको छ,” उहाँले भन्नुभयो ।

कार्यक्रममा पत्रकार महासंघ दैलेखका पूर्व अध्यक्ष पुष्कर थापाले व्यक्तिगत रिसिबि वा राजनीतिक प्रतिशोधका कारण हुने उजुरीको प्रवृत्तिबाट सचेत रहन आग्रह गर्नुभयो । “दुख दिने नियतले होइन, शुसासन कायम गर्ने उद्देश्यले मात्र उजुरी गर्नुपर्छ,” उहाँले जोड दिनुभयो ।

थापाले गाउँ–टोलको विकास, संरचना निर्माण, लागत पारदर्शिता जस्ता विषयमा नागरिक स्तरमै निगरानी आवश्यक रहेको बताए। “दूधमा पानी हाल्ने, सुनमा पित्तल हाल्ने प्रवृत्तिलाई अन्त्य गर्न हामीले आफ्ना व्यवहार सुधार्नुपर्छ,” उहाँले भन्नुभयो ।

कार्यक्रमको समापनमा अख्तियार दुरुपयोग अनुसन्धान आयोग, सुर्खेतका प्रमुख रामकृष्ण पुडासैनीले सामुदायिक स्तरमै उठेका आवाजहरूलाई प्राथमिकता दिँदै अनुसन्धानलाई अझ प्रभावकारी बनाइने प्रतिबद्धता जनाउनुभयो । “शिक्षा, स्वास्थ्य, रोजगारीजस्ता विषयमा नागरिक खवरदारीका आधारमा छिटो र प्रभावकारी अनुसन्धान अगाडि बढाइनेछ,” उहाँले स्पष्ट पार्नुभयो ।


 

प्रतिक्रिया