'निर्दोष बालबालिकामाथि हुने अत्याचारको अन्त्यका लागि एकजुट होऔं '

काठमाडौँ - सोसेक नेपालले निर्दोष बालबालिकामाथि हुने हिंसा, शोषण, उपेक्षा र भेदभावको अन्त्य गर्दै बालमैत्री समाज निर्माणमा जुट्न सबैलाई आह्वान गरेको छ ।
बालअधिकारका पक्षमा जनचेतना फैलाउने उद्देश्यले मनाइने निर्दोष बालबालिकामाथि हुने अत्याचार विरुद्धको अन्तर्राष्ट्रिय दिवसको अवसरमा संस्थाले एक विज्ञप्ति जारी गर्दै बालमैत्री समाज निर्माणप्रति प्रतिबद्धता जनाएको हो।
विज्ञप्तिमा भनिएको छ , “बालबालिका अपराधी होइनन्- उनीहरू आशा, सपना र सम्भावनाका प्रतिनिधि हुन्। हिंसा, शोषण, उपेक्षा र भेदभावबाट मुक्त जीवन हरेक बालबालिकाको आधारभूत अधिकार हो।”
सोसेक नेपालका कार्यकारी निर्देशक हीरासिंह थापाले भन्नुभयो,“आजको दिन सम्झना हो — बोलौं, उठौं र मिलेर काम गरौं, बालअधिकारको संरक्षण र अत्याचारको अन्त्यका लागि। निर्दोष बालबालिकामाथि गरिने हिंसा, शोषण र अन्याय विरुद्ध एकजुट भएर संघर्ष गर्नु हाम्रो नैतिक र सामाजिक दायित्व हो।”
थापाका अनुसार बालबालिका कुनै अपराधका कारण होइन, समाजको असंवेदनशीलताका कारण पीडित बन्ने गरेका छन् । त्यसैले उनीहरूलाई संरक्षण, स्नेह र अवसर प्रदान गर्न सबै पक्षको सक्रिय सहभागिता अपरिहार्य भएको बताइएको छ।
संस्थाले बालबालिकाको संरक्षण, विकास र सहभागिता सुनिश्चित गर्न समुदायस्तरमा निरन्तर कार्यक्रमहरू सञ्चालन गर्दै आएको छ । शैक्षिक पहुँच, पुनःस्थापना सेवा, मनोसामाजिक सहयोग र चेतना अभिवृद्धिमा केन्द्रित रहेर सोसेक नेपालले उल्लेखनीय कार्य गर्दै आएको उहाँले बताउनुभयो ।
दिवसका अवसरमा संस्थाले सबैमा मानवता र उत्तरदायित्वको भावना जागृत होस् भन्ने शुभकामना व्यक्त गर्दै बालमैत्री समाज निर्माणमा सबैको साथ र सहयोग अपेक्षा गरेको छ।
प्रतिक्रिया