निर्मला सुवेदीको कृषि मोह : जागिर छोडेर वार्षिक १० लाख आम्दानी

निर्मला सुवेदीको कृषि मोह : जागिर छोडेर वार्षिक १० लाख आम्दानी

दैलेख –  नारायण नगरपालिका–७ की ३९ वर्षीया निर्मला कुमारी सुवेदीले जागिर छोडेर कृषि पेशा रोजेपछि सफलता हासिल गर्नुभएको छ । २०६५ सालमा कृषि जेटिए पास गरेकी सुवेदीले विभिन्न संघसंस्थामा काम गरेपछि २०७४ सालदेखि जागिर त्यागेर पूर्ण रूपमा कृषिमा लाग्नुभयो ।

२०७९ सालमा छोराको नाममा मुकेश कृषि तथा पशुपंक्षी फर्म दर्ता गरेर सुरु गरिएको व्यवसायमा हाल उहाँ भैंसीपालन, वाख्रापालन, मौरीपालन, तरकारी र फलफूल खेती गर्दै आउनु भएको छ । १५० वटा मौरीघार, ३७ वटा वाख्रा, २ वटा भैसी र ३ रोपनीमा व्यवसायिक तरकारी खेती गर्दै सुवेदीले हाल २० रोपनी क्षेत्रफलमा सुन्तला खेती समेत विस्तार गर्नका लागि तयारी गरिरहनु भएको छ ।

सुवेदीको कृषि उद्यमबाट वार्षिक १० लाख रुपैयाँ बराबरको आम्दानी हुँदै आएको छ। दुई छोरा र एक छोरीको बोर्डिङ स्कुलमा शिक्षा खर्च, घरायसी खर्च कटाएर पनि उहाँले ७ लाखभन्दा बढी शुद्ध आम्दानी गरेका उहाँले बताउनुभयो ।

उहाँ नेपाल मौरीपालन व्यवसायिक संघ, कर्णाली प्रदेशको उपाध्यक्ष समेत हुनुहुन्छ। कृषिमा व्यावसायिक सफलताको साथै उहाँले ७–८ जनालाई रोजगारी सृजना गर्न सफल भएको उहाँको भनाई छ । परिवार, छिमेकी र श्रीमान–छोरीको सहयोगले व्यवसाय अघि बढाइरहनु भएकी निर्मला गाउँकै अगुवा कृषक समेत बन्नुभएको छ । 

विश्व वातावरण दिवस २०२५ को अवसरमा सुवेदीले आफ्नो बारीमा बिरुवा रोप्दै वातावरण संरक्षणमा लाग्न सबैलाई अनुरोध समेत गर्नुभयो  । 

प्रतिक्रिया