कालीकोटको मुम्रा बालविवाह निषेधित वडा घोषणा

कालीकोटको मुम्रा बालविवाह निषेधित वडा  घोषणा

कालीकोट –  कालिकोटको सान्नीत्रिवेणी गाउँपालिका–८ मुम्रालाई बालविवाह निषेधित वडा घोषणा गरिएको छ । ‘नगरौं बिहेको कुरा, भएको छैन २० वर्ष पूरा’ भन्ने मूल नाराका साथ बालविवाह निषेधित वडा घोषणा गरिएको हो । 

शिक्षा, स्वास्थ्य, पोषण तथा संरक्षणमा बाल विवाहले प्रतिकूल असर परेकाले सान्नीत्रिवेणी गाउँपालिकालाई दुई वर्षभित्र बालविवाहमुक्त पालिका घोषणा अभियान सुरू गरेको गाउँपालिका अध्यक्ष मोहनबहादुर केसीले बताउनुभयो । “बालविवाह जस्तो सामाजिक कुप्रथाले बालबालिकाको जीवन अन्धकारमा पु¥याएको छ,” उहाँले भन्नुभयो, “उमेर नपुगी बिहे गरेका किशोरीहरू कुपोषणको मारमा छन् । सामाजिक, सांस्कृतिक, आर्थिक रुपमा कमजोर छन् ।”

गाउँमा कसैले पनि बालविवाह नगर्ने नगराउने प्रतिबद्धतासहित बाल विवाह निषेधित वडा घोषणा गरिएको बाल अभियन्ता तथा अधिवक्ता खडानन्द चौलागाईँले बताउनुभयो । “बालविवाह कानुनी र सामाजिक अपराध हो,” उहाँले भन्नुभयो ।

चार वर्षअघिसम्म ६८ प्रतिशत बाल विवाह रहेको मुम्रामा ‘प्लान’सहितका संघसंस्थाको सहयोगमा अभियान सञ्चालन गरेपछि गत चैतमा १० प्रतिशतभन्दा कम भएको हो । सान्नीत्रिवेणी गापाको ७ र ८ नम्बर वडा बालविवाह निषेधित वडा घोषणा भइसकेका छन् । बालविवाह निषेधित वडा घोषणापछि पालिकाले किशोरकिशोरीको शिक्षामा लगानी गर्ने गाउँपालिकाकी उपाध्यक्ष पार्वती सञ्ज्यालले बताउनुभयो ।

प्रतिक्रिया