वालिकाहरुलाई छात्रवृत्ति तथा नागरिक बजेटमाथि छलफल कार्यक्रम सम्पन्न

दैलेख - दैलेखको नारायण नगरपालिकामा अति जोखिममा परेका वालिकाहरुलाई छात्रवृत्ति तथा बजेटमाथि छलफल कार्यक्रम गरिएको छ ।
शसक्त महिला, समृद्ध नेपाल कार्यक्रमको आर्थिक सहयोग र नारायण नगरपालिकाको समन्वय तथा सहजिकरणमा नारायण नगरपालिकामा रहेका अति जोखिम, अनाथ, विपन्न तथा सिमान्तकृत ३३ जना वालिकाहरुलाई 'वालिका विशेष छात्रवृत्ति' अन्तर्गत रु दुइहजारका दरले छात्रवृत्ति रकम हस्तान्तरण गरिएको छ ।
कार्यक्रमका दौरान नगर उपप्रमुख तप्ता थापाले, प्रदान गर्दै छात्रवृत्तिले वालिकाहरूको शैक्षिक विकासमा महत्वपूर्ण योगदान पुर्याउने विश्वास व्यक्त गर्नुभयो। साथै, 'वालिका विशेष सहयोग कार्यविधि' समेत निर्माण भइसकेको र छिट्टै 'वालिका विशेष सहयोग खाता' सञ्चालनमा ल्याइने जानकारी गराउनुभयो।
थापाका अनुसार सुरुआती चरणमा ३३ जना वालिकाको व्यक्तिगत खाता खोलिनेछ । ती खातामा नगरपालिकाबाट १५ हजार र साझेदार संस्थाबाट थप रु १५ हजार गरी जम्मा ३० हजार राखिनेछ। वार्षिक ब्याजबाट आउने रकम वालिकाहरूको शैक्षिक तथा सामाजिक उत्थानमा प्रयोग गरिनेछ। यो कार्यक्रमले बालविवाह न्यूनीकरणमा समेत उल्लेखनीय योगदान पुर्याउने उपप्रमुख थापाको विश्वास छ ।
त्यस्तै सोही दिन, नारायण नगरपालिकामा ूनागरिक बजेटू मस्यौदा सम्बन्धी गोष्ठी समेत सम्पन्न भएको छ । सो गोष्ठीमा नगरपालिकाले नागरिकहरूलाई बजेट प्रक्रिया बुझ्न सहज होस् भन्ने उद्देश्यले नागरिक बजेटमाथि छलफल गरि प्रारम्भिक मस्यौदा तयार पारेको हो। यो अभ्यास नेपालमै पहिलोपटक स्थानीय तहले नागरिक बजेट तयार पार्ने प्रयासको रूपमा लिइएको छ ।
गोष्ठीमा नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत, सम्पूर्ण वडा अध्यक्षहरू, शाखा प्रमुखहरू, वालवालिका तथा तिनीहरूका अभिभावकहरूको सक्रिय सहभागिता रहेको थियो । कार्यक्रममा नारायण नगरपालिकाका सामाजिक विकास अधिकृत तथा ‘शसक्त महिला, समृद्ध नेपाल’ कार्यक्रमका फोकल पर्सन खम बहादुर थापाले कार्यक्रमको समग्र जानकारी प्रस्तुत गर्नुभएको थियो ।
प्रतिक्रिया