स्व. नेता खड्काको १०औँ दिनको पुण्यतिथिमा शोक प्रस्ताव

स्व. नेता खड्काको १०औँ दिनको पुण्यतिथिमा शोक प्रस्ताव

दैलेख  -  नेपाली कांग्रेसका वरिष्ठ नेता, पूर्व मन्त्री तथा लोकतान्त्रिक आन्दोलनका अग्रणी व्यक्तित्व स्वर्गीय गणेश बहादुर खड्काको निधन भएको १०औँ दिनको पुण्यतिथिमा उहाँप्रति श्रद्धाञ्जली अर्पण गर्दै संघीय संसदको तर्फबाट पारित शोक प्रस्ताव दिवंगत खड्काको परिवारलाई हस्तान्तरण गरिएको छ।

प्रतिनिधि सभा सदस्य एवं नेपाली कांग्रेस केन्द्रीय सदस्य सीता कुमारी रानाको नेतृत्वमा सम्पन्न शोक प्रस्तावमा पूर्व सांसद रंग बहादुर शाही, नेपाली कांग्रेस दैलेखका सभापति मणिराम रेग्मी, कोषाध्यक्ष शैलेस कुमार श्रेष्ठलगायत नेताहरूको उपस्थिति रहेको थियो ।

वि.सं. २०४८ र २०५१ सालमा प्रतिनिधि सभा सदस्य र २०६४ मा संविधानसभा सदस्यका रूपमा निर्वाचित खड्का भौतिक योजना तथा निर्माण, यातायात सहायक मन्त्री तथा स्थानीय विकास राज्यमन्त्री समेत रहनुभएको थियो ।

नेपाली कांग्रेसले उहाँलाई दैलेख जिल्लाको अमूल्य राजनीतिक धरोहर, निष्कलङ्ग व्यक्तित्व र युगान्तकारी नेतृत्वका रूपमा स्मरण गर्दै उहाँको चिरशान्तिको कामना गरेको छ । स्व. खड्काको निधन जेठ १५ गते दैलेखस्थित आफ्नै निवासमा ८२ वर्षको उमेरमा भएको थियो ।

प्रतिक्रिया