पालिकास्तरीय भलिबल प्रतियोगिता सम्पन्न
उत्कृष्ट खेलाडीहरू नगदसहित सम्मानित

दैलेख - दैलेखको नारायण नगरपालिकाको आयोजनामा सम्पन्न पालिकास्तरीय पुरुष तथा महिला भलिबल प्रतियोगिता आज एक विशेष समापन समारोहका साथ सम्पन्न भएको छ।
वडा नं १ स्थित टुडिखेल मैदानमा जेठ २९ गतेदेखि सुरु भएको प्रतियोगितामा नगरपालिकाभित्रका विभिन्न वडाबाट टोलीहरूको सहभागिता रहेको थियो। प्रतियोगितामा पुरुष र महिला दुबै विधामा उच्च प्रतिस्पर्धात्मक खेल प्रदर्शन भएको थियो ।
पुरुषतर्फको प्रतिस्पर्धामा वडा नं ८ विजेता बन्यो भने वडा नं ११ उपविजेता र वडा नं ५ तृतीय स्थानमा रहे। उत्कृष्ट खेलाडीको रूपमा वडा नं ११ का मुकुन्द शाही र वडा नं ८ का राजेन्द्र परिवारलाई नगद रु १५०० र सम्मानपत्रसहित सम्मान गरिएको थियो।
महिलातर्फ त्रिभुवन माध्यमिक विद्यालयले पहिलो स्थान हात पार्न सफल भयो । रैनादेवी मावि टाटामाखु दोस्रो र वडा नं १ तेस्रो स्थानमा रहे। महिला उत्कृष्ट खेलाडीको रूपमा रैनादेवी माविकी अनिता शाही र वडा नं १ की पविना रावतले नगद रु १५०० र सम्मान प्राप्त गरे।
प्रतियोगितामा विजेता टोलीलाई नगद पुरस्कारसहित प्रमाणपत्र र मेडल प्रदान गरिएको थियो। पहिलो स्थान हासिल गर्ने टोलीले नगद रु २५,०००, दोस्रोले रु १५,००० र तेस्रो स्थान प्राप्त गर्ने टोलीले रु १०,००० पुरस्कार प्राप्त गरे।
समापन समारोहमा नारायण नगरपालिकाका प्रमुख श्री लोमन शर्माले प्रतियोगिता शान्तिपूर्ण र सफल ढंगले सम्पन्न भएकोमा आयोजक, खेलाडी, निर्णायक मण्डल तथा दर्शकहरूलाई धन्यवाद ज्ञापन गर्नुभयो । उहाँले हार व्यहोरेका टोलीलाई पनि आगामी दिनमा अझ राम्रो प्रदर्शन गर्न हौसला दिँदै नगरपालिकाले यस्ता खेलकुद गतिविधिहरूलाई निरन्तरता दिने प्रतिबद्धता व्यक्त गर्नुभयो।
खेलकुद समितिका अध्यक्ष ललित खड्काले नगरपालिकाले खेल क्षेत्रलाई प्राथमिकतामा राख्दै आगामी दिनमा अझ बढी लगानी गर्नु पर्ने आवश्यकता औँल्याउनुभयो।
प्रतिक्रिया