गुराँसमा बालबालिकाद्वारा तयार गरिएको योजना अनुमोदन

गुराँसमा बालबालिकाद्वारा तयार गरिएको योजना अनुमोदन

दैलेख -   दैलेखको गुराँस गाउँपालिकामा बालबालिकाले आफैँले पहिचान गरी तयार पारेका बालमैत्री योजना सार्वजनिक गर्दै पालिकालाई हस्तान्तरण गरिएको छ। २०८२ साल जेठ ३१ गते आयोजित बाल भेलामार्फत २१ लाख २० हजार रुपैयाँ बराबरका योजनाहरू गाउँपालिकालाई प्रस्तुत गरिएका हुन्।

बालबालिकाको नेतृत्वमा आयोजित भेलामा प्राथमिक उपचार सामग्री, विद्यालय घेराबार तथा रंगरोगन, जोखिममा रहेका बालबालिकाका लागि सहयोग सामग्री, बालमैत्री धारा तथा शुद्ध खानेपानीको व्यवस्था लगायतका विषयमा विशेष जोड दिइएको थियो ।

१२ वटा अनिवार्य र ६ वटा प्राथमिक योजनाको प्रस्ताव
बालभेलाले तयार पारेका योजनाहरूलाई प्राथमिकता अनुसार वर्गीकृत गर्दै १२ वटा योजना अनिवार्य रूपमा कार्यान्वयन गर्नुपर्ने र बाँकी ६ वटा प्राथमिकतामा राख्न आग्रह गरिएको छ। प्रस्तावित योजनाहरू यस प्रकार छन् : 

अतिरिक्त क्रियाकलाप र पुरस्कारको व्यवस्था, विद्यालयको घेराबार तथा रंगरोगन, प्राथमिक उपचार सामग्रीको उपलब्धता, जोखिममा रहेका बालबालिकालाई आवश्यक सहयोग, बालमैत्री धारा र शुद्ध खानेपानी, लैंगिक तथा यौनिक अल्पसंख्यक सम्बन्धी सचेतना, विपद् जोखिम न्यूनिकरणसम्बन्धी अभ्यास कार्यक्रम, विषयगत शिक्षकको व्यवस्था, वडा र पालिका बाल सञ्जालको नियमित बैठक तथा बजेट व्यवस्था, विद्यालयमा प्रविधि र शैक्षिक सामग्रीको उपयुक्त व्यवस्थापन, बालविवाह न्यूनीकरणका लागि जनचेतनामूलक कार्यक्रम, पढाइ मेला सञ्चालन लगायतका योजना रहेका छन् । 

पालिकाको प्रतिबद्धता

गुराँस गाउँपालिकाका अध्यक्ष टोपबहादुर विसीले बालबालिकाद्वारा प्रस्तुत गरिएका सबै योजनालाई बजेटमा समावेश गरी कार्यान्वयन गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो। उहाँले बालमैत्री पालिका निर्माणको दिशामा यस्तो अभ्यासले थप ऊर्जा दिएको उल्लेख गर्नुभयो ।

पालिकाकी उपाध्यक्ष शिवाकुमारी खड्काले बालभेलाले बालबालिकाको आत्मविश्वास र नेतृत्व विकासमा महत्वपूर्ण भूमिका खेलेको बताउँदै यस्ता भेलाहरू निरन्तर सञ्चालन गर्नुपर्ने धारणा राख्नुभयो ।

बालभेलाको सहजीकरण सोसेक नेपालका फिल्ड अधिकृत कस्तुरा विसीले गर्नुभएको थियो भने महिला, बालबालिका तथा ज्येष्ठ नागरिक शाखाका शाखा प्रमुख नगेन्द्र पाल थापाले कार्यक्रम सञ्चालनमा आवश्यक सहयोग गर्नुभएको थियो  ।

लैंगिक तथा यौनिक अल्पसंख्यक विषयमा अभिमुखीकरण कार्यक्रम सोसेक नेपालका कार्यक्रम संयोजक प्रभा डाँगीले सञ्चालन गर्नुभएको थियो।

प्रतिक्रिया