बाङ्गेसल्लामा लिफ्ट प्रणालीमार्फत घर-घरमा पिउने पानी

सल्यान – सल्यान जिल्लाको छत्रेश्वरी गाउँपालिका–४ अन्तर्गत रहेको विकट बाङ्गेसल्ला बस्तीमा पुस्तौँदेखिको खानेपानी अभाव अन्ततः समाधान भएको छ। लिफ्ट प्रणालीमार्फत ३५० मिटर तलबाट पानी तानेर घर-घरमा धाराको सुविधा पुर्याएपछि स्थानीयवासी वर्षौँको प्यास मेटिएको महसुस गरिरहेका छन्।
यो योजनाले विगतमा दैनिक दुईदेखि चार घण्टासम्म उकालो–ओरालो गर्दै पानी ल्याउनुपर्ने बाध्यता अन्त्य गरिदिएको छ। बस्तीका ७२ वर्षीय सुकलाल घर्ती विगत सम्झँदै भन्नुहुन्छ, “कहिले राति, कहिले दिनमा पानीका लागि घण्टौँ हिँड्नुपर्थ्यो। तलको पानी घरमै आउँछ भनेर कहिल्यै सोचेको थिइनँ । गाउँपालिकाले त्यो सम्भव बनाइदियो ।”
मुख्यमन्त्री रोजगार कार्यक्रमअन्तर्गत छत्रेश्वरी गाउँपालिकाले यो आयोजना सञ्चालन गरेको हो। योजनाका लागि गाउँपालिकाले १४ लाख ७० हजार रुपैयाँ तथा थप एक लाख रुपैयाँ अपुग रकमको व्यवस्था गरेको थियो । साथै, स्थानीयवासीले १६/१६ दिनसम्म श्रमदान गर्दै १ लाख ४७ हजार बराबरको जनश्रम प्रदान गरेका थिए।
खानेपानी उपभोक्ता तथा योजना निर्माण समितिका अध्यक्ष अम्बर विकका अनुसार, योजनाको कुल लागत १५ लाख ७० हजार रुपैयाँ पुगेको छ । योजना ४३ दिनभित्र सम्पन्न गरिएको र यसले कुल १४ घरधुरीलाई प्रत्यक्ष लाभ पुर्याएको उहाँले बताउनुभयो । “गाउँका सबै नागरिकको जीवनशैलीमा प्रत्यक्ष परिवर्तन आएको छ,” अध्यक्ष विकले भन्नुभयो ।
छत्रेश्वरी गाउँपालिकाका अध्यक्ष ओजबहादुर बुढाथोकीले विकट तथा दुर्गम क्षेत्रलाई प्राथमिकतामा राख्दै स्रोतसाधन अनुसार विकास योजनाहरू कार्यान्वयन भइरहेको बताउनुभयो । “हामी नागरिकको आवश्यकता बुझेर, स्रोत र क्षमताभित्र रहेर योजना अघि बढाइरहेका छौँ,” उहाँले भन्नुभयो ।
प्रतिक्रिया