गुराँसमा खानेपानी आयोजनाको अनुगमन

गुराँसमा खानेपानी आयोजनाको अनुगमन

दैलेख –  दैलेखको गुराँस गाउँपालिका–६ र ८ मा निर्माण सम्पन्न भएका तिन वटा खानेपानी आयोजना परियोजनाको अनुगमन गरिएको छ। मंगलवार गुराँस गाउँपालिका , हेल्भेटास नेपाल र सोसेक नेपाल र उपभोक्ताहरुको उपस्थितिमा संयुक्त रूपमा आयोजनाको अनुगमन गरिएको हो ।

अनुगमन टोलीले आयोजनाअन्तर्गत निर्माण भएका मुहान इन्टेक, पानी संकलन ट्याङ्की, पाइपलाइन, वितरण प्रणाली तथा घर–घरमा जडान गरिएका धाराको निरीक्षण गरेको हो । उक्त आयोजनाबाट घरघरमै पिउने पानी पुग्न थालेपछि स्थानीयहरू निकै खुसी देखिएका छन्।

दूषित पानीबाट मुक्ति, अहिले शुद्ध पानीको धारापहिला खोलाको पानी प्रयोग गर्दा बालबालिकामा झाडापखाला,टाइफाइडजस्ता रोग लाग्ने समस्या भएको स्थानीय बताउँछन् । वडा नम्बर ८ का एक स्थानीय बासिन्दा याम कुमारी  वली भन्नुहुन्छ, “पहिला खोलाको दूषित पानी पिउनुपर्थ्यो, अहिले घरमै धारा र फिल्टर पनि पाएका छौँ। अब त रोग पनि घट्नेछ, स्वास्थ्य पनि राम्रो हुने आशा छ।”

उक्त आयोजनामार्फत प्रत्येक घरमा एक–एकवटा फिल्टर समेत वितरण गरिएको छ, जसले घरपरिवारलाई अझ सुरक्षित पिउने पानी सुनिश्चित गर्न सहयोग पुर्‍याएको छ।

आयोजनाको दीगो उपयोगका लागि स्थानीय स्वामित्व र संरक्षण अपरिहार्य रहेको सोसेक नेपालका कार्यकारी निर्देशक हिरा सिंह थापाले  बताउनुभयो।

उहाँले भन्नुभयो, “यी धारा र प्रणाली तपाईंहरूकै सम्पत्ति हुन्। संरक्षण तपाईं आफैँले गर्नुहोस्। बाहिरबाट सहयोग आउँछ, तर जिम्मेवारी तपाईंहरूकै हो।”

गाउँपालिका उपाध्यक्ष शिवाकुमारी खड्काले आयोजनाको प्रगति सन्तोषजनक रहेको उल्लेख गर्दै पालिकाले बाँकी वडाहरूमा पनि यस्ता आयोजनाहरू सञ्चालन गर्ने तयारी गरिरहेको जानकारी दिनुभयो।
उहाँले भनिन्, “खानेपानी स्वास्थ्यसँग प्रत्यक्ष जोडिएको विषय हो। यसमा पालिका गम्भीर भएर अघि बढिरहेको छ।”

सोसेक नेपाल, र हेल्भेटास नेपालका प्रतिनिधिहरूले आगामी दिनमा प्रविधिमैत्री व्यवस्थापन, क्षमता विकास तथा समुदायको सशक्तिकरणमा निरन्तर साथ रहने प्रतिबद्धता जनाएका छन्। ८ र ६ मा हाल आयोजनाबाट करिब १ सय ११ धारामार्फत ५८६ जनसंख्या साथै २ वटा बिद्यालय लाभान्वित भएका छन्। आयोजनाको अनुमानित लागत ८८ लाख ५४ हजार ८ सय ८२ रुपैयाँ रहेको छ, जसमा गुराँस गाउँपालिका, एकीकृत जलश्रोत ब्यबस्थापन परियोजना र स्थानीय समुदायको संयुक्त लगानी रहेको बताइएको छ। 

प्रतिक्रिया