स्वच्छ पानीको पहुँचले बद्लियो नारायण नगरवासीको जीवनशैली

-हिमेन्द्र बिश्वकर्मा
दैलेख – दैलेखको नारायण नगरपालिकाका वडा नं १० र ११ मा सञ्चालित तीन वटा खानेपानी आयोजना अन्तिम चरणमा पुगेका छन् । हालै सम्पन्न अनुगमनमा आयोजनाको कार्य पूर्णरूपमा सम्पन्न भइसकेको र पानीको प्रवाह समेत सुरु भइसकेको जानकारी दिइएको छ ।
यो आयोजनाको अन्त्यसँगै यहाँका स्थानीयको दशकौं लामो प्यास मेटिएको छ। अब महिलाहरूलाई बिहानै उठेर पानीका गाग्री बोकी घण्टौं हिँड्नुपर्ने छैन, बालबालिकालाई विद्यालय पठाउनुअघि पानीको जोहो गर्न धाउनु पर्ने छैन। एक प्रकारले भन्नुपर्दा, यो आयोजनाले नारायण नगरपालिकाका वासिन्दाको जीवनशैलीमा परिर्वतन ल्याएको छ।
नारायण नगरपालिका, हेल्भेटास नेपाल र सोसेक नेपालको प्राविधिक र आर्थिक सहकार्यमा यो योजना सफल भएको हो । आयोजनाको योजना, निर्माण र परीक्षणसम्मको यात्रामा नगरपालिकाको नेतृत्व, साझेदार संस्थाहरूको निरन्तर अनुगमन, र उपभोक्ता समितिको सक्रिय सहभागिता अत्यन्तै प्रशंसनीय रह्यो।
अनुगमनमा सहभागी नारायण नगरपालिकाका नगर प्रमुख लोमन शर्माले आयोजनालाई सफलतापूर्वक सम्पन्न गर्न सकेकोमा सन्तोष व्यक्त गर्नुभयो । उहाँले भन्नुभयो, “यो योजना अब कार्यान्वयनमा आइसकेको छ। नागरिकलाई प्रत्यक घरमा पानिको धारा जोडान र सरसफाइमा नागरिकलाई जोड्ने मुश्य उदेश्य रहेका बताउनुभयो ।
उपप्रमुख तप्ता कुमारी थापाले योजनाले स्थानीयवासीलाई स्वच्छ पिउने पानीको सुविधा प्रदान गर्न ठूलो भूमिका खेलेको बताउनुभयो । “दिगो विकासका लागि स्वच्छ पानी र सरसफाइ अत्यन्त महत्वपूर्ण विषय हो,” उहाँले भन्नुभयो, “हामी आगामी दिनमा यस्ता योजनालाई अझ प्रभावकारी बनाउँदै लैजानेछौँ।”जनता सामु हामीले गरेका बाचा पुरा गरेका छौ, हामिले गरेको काम बाट जनता खुसी छन।
परम्परागत रुपमा, पानीको मुख्य जिम्मेवारी घरका महिलामा पर्ने गर्दछ । एक गाग्री पानी ल्याउन घण्टौं समय खर्चिनुपर्ने, ओहोरदोहोरमा जोखिम मोल्नुपर्ने, अनि अन्य घरेलु काममा पछि पर्नुपर्ने अवस्था अब अन्त्य भएको स्थानीयवासी बताउँछन्।
वडा नं ११ की लक्ष्मी खडका अधिकारी भन्नुहुन्छ, “अब पानी घरमै आएको छ। बिहान बेलुकाको झन्झट हटेको छ। छोराछोरीलाई समयमै खाजा दिई स्कुल पठाउन पाउँदा एकदमै सजिलो भएको छ।”
स्वच्छता र स्वास्थ्यमा प्रत्यक्ष प्रभाव
खानेपानी नजिकै हुँदा स्थानीयवासीको सरसफाइमा समेत सुधार आएको छ। अब खुला धारा, फोहोर पानी, वा खोल्साबाट पानी प्रयोग गर्नु नपर्ने हुँदा पानीजन्य रोगहरूमा पनि कमी आउने अपेक्षा गरिएको छ।
योजना निर्माणको सम्पूर्ण प्रक्रियामा स्थानीय उपभोक्ता समिति सशक्त रूपमा संलग्न थियो। योजनाको डिजाइन, प्रगतिको अनुगमनसम्म समितिले जिम्मेवारीपूर्वक काम गर्यो। यही सहभागिताले योजनालाई पारदर्शी, छरितो र सस्तो बनाएको उपभोक्ताहरू बताउँछन्।
वडाअध्यक्ष दिर्गमल्ल भन्नुहुन्छ, “हामी आफैंले योजना हेरेर अघि बढाएका हौँ। कसरी काम गर्यो, कसरी सामाग्री ल्यायो भन्ने सबै विवरण हामीसँग छ। यसले भ्रष्टाचारको सम्भावना हटाएको छ।”पहिला पानिको यो बस्तीमा निकै दुख थियो ।हेल्भेटास नेपालसंग साजेदारी गरेपछि अहिले खानेपानिको सुबिधा भएको छ।
यो आयोजना विकास साझेदारीको सफल उदाहरण हो। नगरपालिका, अन्तर्राष्ट्रिय सहयोग संस्था हेल्भेटास नेपाल, राष्ट्रिय गैरसरकारी संस्था सोसेक नेपाल, र स्थानीय समुदाय बीचको समन्वय, विश्वास र पारदर्शिताले परियोजना सफल भएको हो।
नगर उपप्रमुख तप्ता थापा भन्छिन्, “अब हामीले यसलाई उदाहरण बनाउँदै अन्य वडामा पनि यस्ता योजना विस्तार गर्ने योजना बनाएका छौँ। पानी मात्र होइन, सरसफाइ, ढल व्यवस्थापनजस्ता कुरामा पनि ध्यान दिँदै जानेछौँ।”
प्रतिक्रिया