अपराध अनुसन्धानमा राज्यका निकाय र सामाजिक अगुवाहरुको भुमिका

अपराध अनुसन्धानमा राज्यका निकाय र सामाजिक अगुवाहरुको भुमिका

दैलेख- जिल्ला न्यायाधीश कुलप्रसाद पाण्डेले अनौपपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)को मानव अधिकार पैरबीको कामले न्याय सम्पादनको काममा समेत मद्दत पुगेको बताउनुभएको छ । इन्सेकले सोमबार दैलेख सदरमुकाममा आयोजना गरेको मानव अधिकार वर्ष पुस्तक घटना अभिलेखको अर्धवार्षिक पूर्वसमीक्षा कार्यक्रममा साधन श्रोतको अभावमा न्याय सम्पादन कामहरु अपराध अनुसन्धान, अभियोजन र अदालती तहकीकातमा सोचे जति सुधार नआएको उल्लेख गर्दै सामाजिक कुरीति, कुसँस्कार, विभेद, असमानता हटाउन राज्यका निकाय र सामाजिक अगुवाहरुको भुमिका रहेको  जिल्ला न्यायाधीश पाण्डेले बताउनुभयो ।

कार्यक्रममा जिल्ला प्रहरी कार्यालय दैलेखका इञ्चार्ज डीएसपी गणेशबहादुर बरालले प्रहरीको व्यवहार कुनै ठाउँ असहज लागेमा तत्काल सूचना पाउन सके सुधार गर्दै जाने प्रतिवद्धता व्यक्त गर्नुभयो । समयमा पाएको सुझावले कमीकमजाेरी सच्याउन सहयाेग पुग्ने उल्लेख गर्दै प्रहरी र समुदायको साझेदारी बढाएर शान्ति सुरक्षा प्रभावकारी बन्ने बताउनुभयो । नेपाल बार एशोसियसन दैलेखका जिल्ला अध्यक्ष प्रेमबहादुर थापाले इन्सेकले अभिलेखीकरण गर्ने घटना वा अरु नागरिक समाजले पैरबी गर्ने सवालहरु तथ्यमा आधारित हुनुपर्ने सुझाव दिनुभयो ।

कार्यक्रममा जिल्ला न्यायाधिवक्ता द्रोणदत्त पौडेल, गैसस महासंघका केन्द्रीय सदस्य हीरासिंह थापा, नेपाल पत्रकार महासंघ दैलेखका दोश्रो कार्यकालका अध्यक्ष कमल शर्मा, महिला सशक्तिकरण मञ्च अध्यक्ष सविना बिक, बाल हेल्पलाइनका कार्यक्रम संयोजक रमा श्रेष्ठ लगायतले वर्ष पुस्तक घटना र मानव अधिकार सवालमा धारणा राख्नुभएको थियो ।

 

कार्यक्रम औपचारिक आरम्भ हुदै इन्सेक जिल्ला प्रतिनिधि अमर सुनारले सन् २०२५ को जनवरीदेखि ६ महिना अवधिमा ४९ वटा घटना अलिलेखकरण गरिएकोमा ६८ जना पीडित रहेको जानकारी दिनुभयो । विवरण अनुसार सबै भन्दा धेरै १४ बालिका बलात्कार, १३ घरेलु हिंसा, ८ बहुविवाह, ४ व्यक्ति हत्या, ४ अभद्र व्यवहार, ३ आत्महत्या दुरुत्साहन, २ बाल यौन दुव्र्यवहार र एउटा अपराधिक उपद्रो समेत ४९ घटना अलिलेखीकरण गरिएको इन्सेक जिल्ला प्रतिनिधि सुनारले जानकारी दिनुभयो ।  गैसस महासंघ दैलेखका जिल्ला अध्यक्ष डिलकुमारी चन्दको अध्यक्षतामा कार्यक्रम भएको थियो ।

 

प्रतिक्रिया