ठाटीकाँधले ल्यायो ४१ करोड बढीको बजेट

ठाटीकाँध – दैलेखको ठाटीकाँध गाउँपालिकाले आर्थिक वर्ष २०८२÷८३ का लागि ४१ करोड ५० लाख ३१ हजार ५९ रुपैयाँको बजेट सार्वजनिक गरेको छ । मंगलबार सम्पन्न १७औं गाउँसभाले उपाध्यक्ष देविराम बडुवालमार्फत बजेट प्रस्तुत गर्दै सर्वसम्मत अनुमोदन गरेको हो ।
गाउँपालिकाले चालु खर्चतर्फ २३ करोड ४५ लाख ३५ हजार ५९ रुपैयाँ र पुँजीगत खर्चतर्फ १८ करोड ४ लाख ९६ हजार रुपैयाँ विनियोजन गरेको छ । बजेट व्यवस्थापनका लागि संघीय सरकारबाट प्राप्त समपुरक, समानीकरण, विशेष, राजस्व बाँडफाँट अनुदान तथा प्रदेश सरकारबाट प्राप्त विभिन्न शीर्षकका अनुदानसहित आन्तरिक स्रोतको संयोजन गरिएको गाउँपालिकाले जनाएको छ ।
गाउँपालिका अध्यक्ष रक्षबहादुर शाहले गाउँसभामा आगामी वर्षको नीति तथा कार्यक्रम प्रस्तुत गर्दै, नयाँ बजेटले विगतका उपलब्धिहरूलाई संस्थागत गर्दै समावेशी र दिगो विकासलाई गति दिने बताउनुभयो । “कृषि, पर्यटन, आयआर्जनमुखी कार्यक्रम, आवश्यक पूर्वाधार निर्माण, आधारभूत स्वास्थ्य सेवा र गुणस्तरीय शिक्षा विस्तारमा बजेट केन्द्रित गरिएको छ,” अध्यक्ष शाहले भन्नुभयो ।
त्यस्तै, गाउँपालिका उपाध्यक्ष बडुवालले अधुरा योजना तथा कार्यक्रमलाई पूर्णता दिँदै पालिकाको दिगो विकासमा टेवा पुग्ने गरी बजेट तयार गरिएको जानकारी दिनुभयो । गाउँसभा सदस्य कनकबहादुर शाहीका अनुसार प्रस्तुत नीति तथा कार्यक्रममाथि विस्तृत छलफलपछि सर्वसम्मत रुपमा पारित गरिएको हो।
प्रतिक्रिया