ज्ञानकुञ्जमा किशोरी लक्षित सरसफाई तथा स्वच्छता सम्बन्धी अभिमुखिकरण सम्पन्न

जुम्ला – जुम्ला जुम्लाको चन्दननाथ नगरपालिका–९ स्थित श्री ज्ञानकुञ्ज माध्यमिक विद्यालयमा किशोरीहरूलाई लक्षित गरी एक दिने सरसफाई तथा व्यक्तिगत स्वच्छता सम्बन्धी अभिमुखिकरण तालिम सम्पन्न गरिएको छ ।
एईआइएन लक्जेम्बर्गको साझेदारीमा सोसेक नेपालद्वारा जुम्लामा सञ्चालित ‘बिहानी परियोजना’ को सहजीकरणमा आयोजित सो कार्यक्रम विद्यालय प्राङ्गणमै सम्पन्न भएको हो। कार्यक्रममा सरसफाईको महत्त्व, हात धुने सही तरिका, महिनावारी स्वच्छता, सुरक्षित प्याडको प्रयोग, फोहोर व्यवस्थापन जस्ता विषयमा व्यावहारिक अभ्याससहित जानकारी प्रदान गरिएको थियो ।
तालिममा प्रशिक्षक सरिता खड्का र सुस्मिता महतले किशोरीहरूलाई व्यक्तिगत सरसफाईका प्रभावकारी उपायहरू सिकाउनुका साथै दैनिक जीवनमा कसरी यी उपायलाई व्यवहारमा उतार्न सकिन्छ भन्ने विषयमा पनि मार्गदर्शन गर्नुभएको थियो । विशेषगरी महिनावारीका समयमा अपनाउनुपर्ने स्वच्छता र सावधानीका उपायहरूलाई प्राथमिकताका साथ प्रस्तुत गरिएको बिहानी परियोजना जुम्लाले जनाएको छ ।
उक्त अभिमुखीकरणमा महिनावारी विभेद न्युनिकरण सम्बन्धी छलफल रहेको थियो । जुम्ला जिल्लामा अझै व्यापक रूपमा कायम रहेको महिनावारी विभेदले किशोरी र महिलाको स्वास्थ्य, शिक्षा र आत्मसम्मानमा पर्ने नकारात्मक असरबारे गहन छलफल गरिएको थियो । प्रशिक्षकहरूले छाउपडी प्रथा विरुद्ध सचेतना फैलाउनुका साथै किशोरीहरूले आफ्ना परिवार र समुदायमा संवादमार्फत यसको अन्त्यतर्फ पहल गर्नुपर्नेमा जोड दिए ।
छाउपडी हुँदा अपनाउनुपर्ने सुरक्षात्मक उपाय, व्यक्तिगत सरसफाईका पक्षहरू, मानसिक दबाबबाट जोगिने तरिका लगायतका विषयमा सहभागी किशोरीहरूसँग अन्तरक्रिया गरिएको थियो । तालिममा श्री ढुस्का गाउँबाट आएका ३० जना किशोरीहरूको सक्रिय सहभागिता रहेको थियो ।
बिहानी परियोजनाका अनुसार, यस्ता अभिमुखिकरण कार्यक्रमहरूले किशोरीहरूमा आत्मविश्वास, नेतृत्व क्षमता र स्वच्छ जीवनशैलीबारे सचेतना बढाउनुका साथै दीर्घकालीन रूपमा छाउपडी प्रथा न्यूनीकरणमा टेवा पुग्ने अपेक्षा गरिएको छ ।
प्रतिक्रिया