चामुण्डाबिन्द्रासैनी ‘पूर्ण खोप सुनिश्चित नगरपालिका’ घोषणा

दैलेख - चामुण्डाबिन्द्रासैनी नगरपालिका ‘पूर्ण खोप सुनिश्चित नगरपालिका’को रूपमा घोषणा गरिएको छ । १४ महिनामुनिका २२३ बालबालिकामध्ये २२१ जनालाई सबै प्रकारका नियमित खोप प्रदान गरिएको तथा केवल दुई बालबालिका मात्रै छुटेका कारण यो उपाधि प्राप्त भएको हो।
स्वास्थ्य शाखा प्रमुख टोपलाल पौडेलका अनुसार नियमित खोप अभियानमा उल्लेखनीय सफलता हात पारिएको र नगरपालिकाको स्वास्थ्य प्रणाली थप प्रभावकारी बन्दै गएको छ।
पूर्ण खोप सुनिश्चित नगरपालिकाको प्रमाणपत्र जिल्ला खोप समितिका अध्यक्ष तथा जिल्ला समन्वय समितिका प्रमुख नमराज शाहीले नगरपालिकालाई हस्तान्तरण गर्नुभएको थियो। कार्यक्रममा बोल्दै उहाँले महिला स्वास्थ्य स्वयंसेविका र स्वास्थ्यकर्मीहरूको सक्रियता र समर्पणप्रति प्रशंसा गर्दै देश विकासको आधार जिम्मेवार नागरिक र संस्था भएको उल्लेख गर्नुभयो।
घोषणा समारोह चामुण्डाबिन्द्रासैनी नगरपालिका मेयर गणेशबहादुर शाहीको अध्यक्षतामा सम्पन्न भएको थियो। कार्यक्रममा पूर्व मेयर सूर्यबहादुर शाही, प्रमुख प्रशासकीय अधिकृत भलाराम पङ्गाली, स्वास्थ्य सेवा कार्यालय दैलेखका खोप अधिकृत थीरप्रसाद रेग्मी, नेपाल पत्रकार महासंघ दैलेखका अध्यक्ष अमर सुनार, तथा सेभ द चिल्ड्रेनका प्रतिनिधि चेतप्रसाद पाध्यायले खोपको महत्त्वबारे धारणा राख्नुभएको थियो ।
प्रतिक्रिया