दैलेखमा बढ्दो लागुऔषध दुरुपयोग : रोकथामका लागि संयुक्त अभियान

दैलेखमा बढ्दो लागुऔषध दुरुपयोग : रोकथामका लागि संयुक्त अभियान

दैलेख –   पछिल्ला केही वर्षयता लागुऔषधको दुर्व्यसनले दैलेख जिल्लामा पनि गम्भीर समस्या उठाएको छ । विशेषगरी किशोर–किशोरी र युवा वर्गमा लागुऔषधको प्रयोग बढ्दै गएको देखिन्छ, जसले समाजमा अपराध, मानसिक रोग, बेरोजगारी, र पारिवारिक विघटन जस्ता समस्या निम्त्याएको छ । यस समस्यालाई सम्बोधन गर्न सरकारी तथा गैरसरकारी निकायहरू सचेतना फैलाउने अभियानमा जुटेका छन् ।

अन्तर्राष्ट्रिय दिवसको अवसरमा चेतना कार्यक्रम लागुऔषध दुरुपयोग तथा अवैध ओसारपसार विरुद्धको अन्तर्राष्ट्रिय दिवसका अवसरमा दैलेख सदरमुकाममा जिल्ला प्रशासन कार्यालयको आयोजनामा विशेष कार्यक्रम गरिएको छ  । उक्त कार्यक्रममा प्रमुख जिल्ला अधिकारी बद्रीनाथ गैह्रेको प्रमुख आतिथ्यता रहेको थियो । 

कार्यक्रममा बोल्दै उहाँले लागुऔषध नियन्त्रण केवल सुरक्षाको सवाल नभई सामाजिक र मानसिक स्वास्थ्यसँग जोडिएको गम्भीर विषय भएको उल्लेख गर्नुभयो । 'समाजलाई स्वस्थ र समुन्नत बनाउने सपना लागुऔषध नियन्त्रणबिना सम्भव छैन,' गैह्रले भन्नुभयो, ‘यसमा सुरक्षाकर्मी, विद्यालय, अभिभावक, स्थानीय सरकार र नागरिक समाज सबैको साझा भूमिका चाहिन्छ ।' उहाँले सरकारी तहबाट जनचेतनामूलक कार्यक्रम, विद्यालयस्तरीय अभिमुखीकरण र पुनःस्थापना केन्द्रहरूको पहुँच विस्तार गर्नुपर्ने आवश्यकता औँल्याउनुभयो । 
प्रहरीको तथ्याङ्क: १९ जना पक्राउ 

जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक लालबहादुर सुनारका अनुसार चालु आर्थिक वर्ष २०८१/८२ को हालसम्मको अवधिमा मात्र जिल्लाभरबाट लागुऔषध सेवन तथा कारोबारमा संलग्न १९ जनालाई पक्राउ गरिएको छ । ‘हामीले सक्रिय सूचना संकलन, अनुगमन र विशेष निगरानीमार्फत लागुऔषध विरुद्ध निरन्तर अभियान चलाइरहेका छौं,’निरीक्षक सुनारले भन्नुभयो, ‘तर यो समस्याको समाधान प्रहरी एक्लैले गर्न सक्दैन, अभिभावक, विद्यालय र स्थानीय समाजको गम्भीर ध्यान आवश्यक छ।'

उहाँले विद्यालयहरूमा लुकेर लागुऔषध सेवन गर्ने प्रवृत्ति बढ्दो अवस्थामा रहेको भन्दै नियन्त्रणका लागि संरचनागत सुधार र शैक्षिक संस्थाहरूमै 'नार्कोटिक्स अवेयरनेस क्लब' स्थापना गरिनुपर्ने धारणा राख्नुभयो । 
दैलेखका विभिन्न स्थानीय तहमा लागुऔषध नियन्त्रण कार्यक्रम सञ्चालन गर्न थालिएको भए पनि त्यो पर्याप्त नभएको सरोकारवालाहरू बताउँछन् । नारायण नगरपालिकाका प्रमुख लोमन शर्मा भन्नुहुन्छ, ‘युवा लक्षित र नशा नियन्त्रणमुखी कार्यक्रम नीति बनाउने क्रममा हामीले प्राथमिकतामा राखेका छौं। अभिभावक र विद्यालयसँगको सहकार्य बलियो बनाउने योजनामा छौँ ।'

किन बढ्दैछ दुर्व्यसन ?

वर्तमान परिस्थितिमा दैलेखका ग्रामीण भेगदेखि शहरी क्षेत्रमा लागुऔषध सेवन गर्नेको संख्या बढ्नुका पछाडि धेरै कारण छन् । विशेषज्ञहरूका अनुसार बेरोजगारी, मानसिक तनाव, परिवारमा संवादको अभाव, सामाजिक दबाब, टोलमा साथीसङ्गतको असर र कमजोर विद्यालय अनुशासन यो प्रवृत्तिका कारक हुन् ।

दैलेख अस्पतालका नि स्वास्थ्य सेवा व्यवस्थापक डा. मनोज विश्वकर्मा भन्नुहुन्छ, पहिलोपटक लागुऔषध सेवन गर्ने प्रायः व्यक्तिहरू कौतुहलता, साथीको दबाब वा पारिवारिक समस्या भोग्न चाहँदा त्यसमा तानिन्छन् ।

उहाँका अनुसार अस्पतालमा सामान्य जाड् रक्सी सेवान गरेका मानिसहरु मात्र अस्पतालमा आउर्ने गर्छन ,कडा खालका लागुऔषध सेवन गर्ने व्यक्ती प्रहरीमार्फत आउने गरेको बताउनुभयो । उक्त दिवस मनाउने निर्णय संयुक्त राष्ट्रसंघको सन् १९८७ को घोषणापत्रको ४२ को ११२ खण्डमा उल्लेख गरिएको छ । दिवस मनाउनुको मुख्य उद्देश्य भनेको विश्व समुदायलाई लागुऔषधको असर र कारोबारबाट मुक्त गराउनु हो ।

 

प्रतिक्रिया