दैलेखमा २ दिने पहुँचयुक्तता तथा पहुँच परीक्षण तालिम सम्पन्न

दैलेख - दैलेखमा अपांगता भएका व्यक्तिहरुका लागि पहुँचयुक्त संरचना र सञ्चार प्रणाली निर्माण तथा परीक्षण सम्बन्धी दुई दिने तालिम सम्पन्न भएको छ। सोसेक नेपाल अन्तर्गतको हातेमालो परियोजनाको आयोजनामा तालिम असार ११ र १२ गते सदरमुकाम दैलेखमा सम्पन्न भएको हो ।
तालिममा नारायण नगरपालिका, दुल्लु नगरपालिका, भैरवी गाउँपालिका र नौमुले गाउँपालिकाका उपप्रमुख, उपाध्यक्ष, इञ्जिनियर, सूचना प्रविधि अधिकृतहरू, अपांगता स्वावलम्बन समूहका प्रतिनिधिहरूको सक्रिय सहभागिता रहेको थियो ।
प्रशिक्षणमा सहभागीहरुलाई नेपाल सरकारको सार्वजनिक संरचना मापदण्डअनुसार पहुँचयुक्तता कायम गर्नुपर्ने कानुनी तथा प्राविधिक पक्षबारे जानकारी दिइएको थियो । विशेषगरी अपांगता भएका व्यक्तिहरुको सहज आवागमन, सूचना र सेवा प्राप्तिको सुनिश्चितताका लागि विद्यालय, स्वास्थ्य संस्था, सरकारी कार्यालय जस्ता संरचनाहरूको पहुँच परीक्षण कसरी गर्ने भन्नेबारे अभ्यास गरिएको थियो।
तालिमको सहजीकरण प्रविण कार्की (प्रमुख, पूर्वाधार विकास कार्यालय, दैलेख) र प्रशिक्षक जितलाल ढकालले गर्नुभएको थियो । तालिममा सहभागीहरूले आफ्नो स्थानीय तहमा रहेका संरचनाहरूको परीक्षण गरी प्रतिवेदन तयार पार्ने अभ्याससमेत गरेका थिए।
भैरवी गाउँपालिकाकी उपाध्यक्ष देवी भण्डारीले तालिममा सिकाइएका कुरा व्यवहारमा उतारी, आगामी संरचनाहरू पहुँचयुक्त बनाइने प्रतिबद्धता जनाउनुभयो।
तालिमपश्चात तयार पारिने परीक्षण प्रतिवेदनलाई आधार मानेर संरचनाको पुनर्निर्माण तथा सुधारका लागि सिफारिस गरिने र आगामी दिनमा बन्ने सबै संरचनाहरूमा पहुँचयुक्तता अनिवार्य गरिने तालिमको मूल उद्देश्य रहेको आयोजकले जनाएको छ।
प्रतिक्रिया