चुवाखोला बेलिब्रिजको उद्घाटन गर्न प्रधानमन्त्री हुम्ला प्रस्थान

चुवाखोला बेलिब्रिजको उद्घाटन गर्न प्रधानमन्त्री हुम्ला प्रस्थान

सुर्खेत –   प्रधानमन्त्री केपी शर्मा ओलीले हुम्लाको सिमकोट नजिकै निर्माण गरिएको चुवाखोला बेलिब्रिजको उद्घाटन गर्न हुम्ला प्रस्थान गर्नुभएको छ  । उक्त पुलको उद्घाटनसँगै हुम्ला सदरमुकाम सिमकोट औपचारिक रूपमा राष्ट्रिय सडक सञ्जालमा जोडिने छ ।

प्रधानमन्त्री ओली उद्घाटनका लागि आइतबार बिहान ११ बजे नेपाली सेनाको हेलिकोप्टरमार्फत सुर्खेत पुग्नुभएको थियो  । तर, खराब मौसमका कारण उहाँको टोली तत्कालै उडान गर्न सकेको थिएन ।

सुर्खेतको वीरेन्द्रनगरस्थित सेनाको उत्तर पश्चिम पृतना हेडक्वार्टरमा चार घण्टा मौसम खुल्ने प्रतीक्षामा बसेपछि प्रधानमन्त्री ओलीसहितको टोली हुम्लातर्फ प्रस्थान गरेको मुख्यमन्त्री यामलाल कँडेलको सचिवालयले जनाएको छ ।

हुम्लाको चुवाखोला पुल उद्घाटनका लागि तय कार्यक्रम आइतबार बिहान ११ बजेका लागि तय गरिएको थियो । गत मंसिरमा मुख्यमन्त्री कँडेलले हुम्ला भ्रमणका क्रममा स्थानीय विकासका साझा मागमध्ये प्राथमिकतामा राखिएको चुवाखोला बेलिब्रिज प्रधानमन्त्रीसँग समन्वय गरेर निर्माण सम्पन्न गराइएको हो ।

कर्णाली करिडोरअन्तर्गत पर्ने चुवाखोला पुल बाँकेको जमुनिया नाकादेखि हुम्लाको हिल्सा नाका जोड्ने ४१० किलोमिटर लामो सडक खण्डको एक महत्वपूर्ण संरचना हो। यो सडकले नेपालका दुई छिमेकी मुलुक भारत र चीनलाई जोड्ने रणनीतिक महत्व बोकेको छ ।

प्रधानमन्त्री ओलीले सामाजिक सञ्जालमार्फत चुवाखोला पुल उद्घाटन र हुम्ला यात्राप्रति उत्साह व्यक्त गर्दै उक्त परियोजनाबाट कर्णाली प्रदेशको आर्थिक र सामाजिक विकासमा उल्लेखनीय योगदान पुग्ने विश्वास व्यक्त गर्नुभएको छ  ।

पुल सञ्चालनमा आएसँगै हुम्ला जिल्लाको यातायात पहुँचमा सुधार आउने, वस्तु तथा सेवाको आपूर्ति सहज हुने, र व्यापार व्यवसायका नयाँ अवसरहरू सिर्जना हुने अपेक्षा गरिएको छ ।

प्रतिक्रिया