प्रादेशिक औद्योगिक प्रदर्शनी सम्पन्न

प्रादेशिक औद्योगिक प्रदर्शनी सम्पन्न

सुर्खेत –   श्रम, सीप र सिर्जनासहित उद्यम, उत्पादन र उत्पादकत्वमा जोड दिने उद्देश्यका साथ कर्णाली प्रदेशको राजधानी वीरेन्द्रनगरमा आयोजित प्रादेशिक औद्योगिक प्रदर्शनी आइतबार सम्पन्न भएको छ। प्रदर्शनीले स्थानीय उत्पादन प्रवर्द्धन र बजारीकरणमा टेवा पुर्‍याएको आयोजकको दाबी छ ।

समापन कार्यक्रममा प्रदेशका उद्योग, पर्यटन, वन तथा वातावरणमन्त्री सुरेश अधिकारीले प्रदर्शनीले उद्यमीहरूलाई प्रोत्साहन र स्थानीय उत्पादनको बजारीकरणमा सहयोग पुगेको बताउनुभयो । उहाँले यस्ता प्रदर्शनी आगामी आर्थिक वर्षमा समयमै सम्पन्न गर्नुपर्नेमा जोड दिनुभयो ।

नेपाल सरकार राष्ट्रपति चुरे–तराई–मधेस संरक्षण विकास समितिकी सदस्य कमला ओली शिवाकोटीले स्थानीय तथा घरेलु उत्पादन वृद्धि भएर आयात प्रतिस्थापनमा सहयोग पुग्ने धारणा राखिन्। उहाँले उद्यम र उद्यमीको संरक्षण, प्रवर्द्धन र विकासमा प्रदेश सरकारले प्राथमिकता दिनुपर्ने बताउनुभयो  ।

उद्योग मन्त्रालयका कायममुकायम सचिव शेरबहादुर श्रेष्ठले प्रदर्शनीले कर्णाली प्रदेशका लघु, घरेलु तथा साना उद्योग र परम्परागत तथा सुधारिएको प्रविधिबारे जानकारी दिएको उल्लेख गर्नुभयो  । उद्योग निर्देशनालयका निर्देशक देवीलाल सापकोटाले प्रदर्शनीमा कृषि, खाद्य, वन पैदावार र हस्तकला क्षेत्रका उत्पादनहरू प्रदर्शन भई स्थानीय उत्पादनको गुणस्तर, ब्राण्डिङ र बजारीकरणमा योगदान पुगेको बताउनुभयो  । उहाँका अनुसार कर्णालीमा करिब ३६ हजार लघु, घरेलु तथा साना उद्योग छन् ।

शाखा अधिकृत सतेन्द्रकुमार यादवले महिला, अपाङ्गता, एकल महिला र दलित मैत्री उद्योग प्रवर्द्धनमा जोड दिनुपर्ने र “मेक इन कर्णाली, मेड इन कर्णाली” नारासहित अगाडि बढेको जानकारी दिनुभयो  ।

प्रदर्शनीमा राडीपाखी, दैलेखी सावर जुत्ता, मह, अगरबत्ती, जडीबुटी, रैथाने अन्नबाली, अल्लो, लोक्ता, दुना–टपरीलगायत वस्तुहरू राखिएका थिए। उत्कृष्ट स्टल प्रदर्शन गर्ने उद्यमीलाई निर्देशनालयले क्रमशः रु ५०, ३० र २० हजार पुरस्कार प्रदान गर्‍यो ।

त्यस्तै, प्रदर्शनी अवसरमा आयोजना गरिएको निबन्ध प्रतियोगितामा प्रथम, द्वितीय र तृतीय हुने छात्र–छात्रालाई क्रमशः रु १५, १० र पाँच हजार नगद पुरस्कार प्रदान गरिएको छ । ६५ स्टल समेटिएको प्रदर्शनी उद्योग तथा उपभोक्ता हित संरक्षण निर्देशनालयले आयोजना गरेको हो ।

प्रतिक्रिया