निश्चित मापदण्डका आधारमा खेलाडी र प्रशिक्षक छनोट गरिने

काठमाडौँ – युवा तथा खेलकूदमन्त्री तेजुलाल चौधरीले खेलाडी, प्रशिक्षक र कर्मचारी छनोट निश्चित मापदण्डका आधारमा गरिने भएकाले आशङ्का नगर्न आग्रह गर्नुभएको छ ।
प्रतिनिधिसभाको आजको बैठकमा सांसद प्रेम सुवालले राख्नुभएको जिज्ञासाको जवाफमा मन्त्री चौधरीले निश्चित मापदण्डका आधारमा सक्षम र योग्य व्यक्तिलाई खेलाडी प्रशिक्षकमा नियुक्त गरिने गरिएको बताउनुभयो ।
कर्णाली प्रदेशमा पूर्वाधार निर्माण सम्पन्न नभएकाले १०औँ राष्ट्रिय खेलकुद प्रतियोगिता तोकिएको समयमा सम्पन्न गर्न नसकिएको दोहो¥याउनुभयो । भौतिक पूर्वाधार निर्माणलाई गति दिएर आगामी आर्थिक वर्षमा सो प्रतियोगिता सम्पन्न गरिने र त्यसका लागि आवश्यक बजेटको प्रबन्ध गरिएको उल्लेख गर्नुभयो । सरकारले ‘स्वास्थ्यका लागि खेलकूद, राष्ट्रका लागि खेलकुद’ नाराका साथ खेलकुद गतिविधि अगाडि बढाइरहेको उहाँको कथन छ ।
राष्ट्रिय खेलकुद परिषद्का अनुसार हाल ६६० जना विभिन्न खेलका प्रशिक्षकको दरबन्दी भए पनि ५० प्रतिशत मात्रै कार्यरत रहेको उहाँले बताउनुभयो । विद्यालयमा उपयुक्त खेलमैदान स्थापना गरेर खेलजन्य गतिविधि अगाडि बढाउन सरकारले आवश्यक काम गरिरहेको मन्त्री चौधरीको भनाइ छ ।
प्रतिक्रिया