कर्णाली प्रदेशका चार स्थानमा सडक अबरुद्ध, जनजीवन प्रभावित

सुर्खेत – कर्णाली प्रदेशका विभिन्न चार स्थानमा सडक अवरुद्ध हुँदा यातायात सेवा ठप्प भएको छ । कर्णाली प्रदेश आपतकालीन कार्य सम्पादन केन्द्रका अनुसार हुम्ला, डोल्पा, रुकुम पश्चिम र जाजरकोटका विभिन्न स्थानमा सडक अवरुद्ध भएका छन् ।
हुम्लाको खार्पुनाथ गाउँपालिका–१ स्थित बोक्वेगौडा क्षेत्रमा कर्णाली करिडोर अन्तर्गतको सडक ३० जेठदेखि मर्मत कार्यका कारण पूर्ण रूपमा बन्द छ। यसले स्थानीय यातायातमा ठूलो असर पारेको छ।
डोल्पा जिल्लाको त्रिपुरासुन्दरी नगरपालिका–१ स्थित छलघाट क्षेत्रमा भने ६ असारदेखि लगातार वर्षाका कारण भेरी करिडोरमा पानीको बहाव बढेपछि सडक अबरुद्ध भएको हो। अत्यधिक पानीका कारण सडक पुनः सञ्चालनमा ल्याउन कठिनाइ भइरहेको जनाइएको छ।
यस्तै, रुकुम पश्चिमको आठबिसकोट नगरपालिका–६, रिजिगारमा पनि ६ असारदेखि तीव्र पानीको वहावका कारण सडक अवरुद्ध भएको छ। लगातारको वर्षाले सडक संरचना कमजोर बनाएको छ।
जाजरकोट जिल्लाको छेडागाड नगरपालिका–३, दखेरी भिर गिट्टिखोला नजिकको मध्यपहाडी लोकमार्गमा माथिबाट आएको ठूलो पहिरोले सडक पूर्ण रूपमा अवरुद्ध बनाएको छ। यस क्षेत्रमा पहिरो अझै सक्रिय रहेकोले तत्काल सडक खुलाउने सम्भावना न्यून रहेको केन्द्रले जनाएको छ।
चारै स्थानमा सडक अवरुद्ध हुँदा स्थानीय बासिन्दाहरू दैनिक आवागमन, आपतकालीन स्वास्थ्य सेवा तथा खाद्य आपूर्तिमा समस्या भोग्न बाध्य छन्। सम्बन्धित निकायले सकेसम्म चाँडो सडक सञ्चालनमा ल्याउने प्रयास भइरहेको जनाएको छ।
प्रतिक्रिया