ठुुलोहाँका पाटनमा परेको चट्याङले १ सय ९७ भेडा मरे

जुम्ला – जुम्लाको गुठिचौर गाउँपालिका–५ ठुुलोहाँका पाटनमा परेको चट्याङले १ सय ९७ भेडा मरेका छन् । सोमबार साँझ ४ बजे तिर उक्त पाटनमा चरिरहेका भेडाको बथानमा एक्कासी चट्याङ परेपछि १९७ भेडा मरेका हुन् ।
जिल्लाबाट पाटनमा गएको नेपाल प्रहरी,शसस्त्र प्रहरी र स्थानीयको टोलीले घटना स्थलमै पुगेर गणना गर्दा चट्याङबाट ६ जना किसानका १ सय ९७ वटा भेडा मरेको प्रहरीले पृष्टी गरेको छ ।
प्रहरी नायब उपरिक्षक डिएसपी रविन बाबू रेग्मीका अनुसार चट्याङ परेर गम्भीर घाईते भएका सिंजा गाउँपालिका वडा नं. ५ का ५१ वर्षिय धन बहादुर रावतलाई सुरक्षाकर्मीले उद्दार गरेर ल्याई कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचार भईरहेको छ ।
घटना स्थलमा पुगेर गणना गर्दा सिंजा गाउँपालिका वडा नं। ५ का भेडा पालक किसान धन बहादुर रावत र गोविन्द बुढा सहित ६ जना किसानका १९७ भेडा मरेको डिएसपी रेग्मीले जानकारी दिनुभयो ।
सोमबार साँझनै सदरमुकाम बाट सुरक्षाको टोली पाटन तर्फ गएको थियो । घाईतेको उद्दारका लागि हेलिकप्टर ल्याउने भनिएपनि सम्भव हुन नसकेपछि उद्दारका लागि सुरक्षाकर्मी खटाइएको थियो ।
प्रतिक्रिया