सामाजिक सञ्जालमा गोपनीयता र अधिकारको सन्तुलन

सामाजिक सञ्जालमा गोपनीयता र अधिकारको सन्तुलन

 दैलेख  गोपनीयता उल्लंघनको प्रभाव केवल व्यक्तिगत जीवनमा मात्र सीमित हुँदैन, यसका गम्भीर असर सामाजिक, आर्थिक र राजनीतिक क्षेत्रमा पनि पर्न सक्छ । यसैले, गोपनीयता सम्मान गर्न र सुरक्षा उपाय अपनाउन अत्यन्त महत्त्वपूर्ण छ ।

आजको डिजिटल युगमा युट्युबजस्ता सामाजिक मिडिया प्लाटफर्मले व्यक्तिलाई स्वतन्त्र रूपमा आफ्ना विचार, राय र व्यक्तिगत अनुभव साझा गर्नका लागि शक्तिशाली मञ्च प्रदान गरेका छन् । तर, युट्युबरहरूले सार्वजनिक गरिरहेका सामग्री कस्ता छन् त भन्नेबारे पनि चासो दिनु जरुरी छ ।

लैंगिक हिंसाका विरुद्धमा भएका समस्या पस्किइरहँदा कसको व्यक्तिगत पारिवारिक विवाद छ, महिला र पुरुषको अनैतिक सम्बन्ध, बालविवाह, बाल दुव्र्यवहारजस्ता मुद्दालाई बढी प्राथमिकता दिएर पस्किएका छन् । यी मुद्दाबारेको संवेदनशीलतामा भने कमै ध्यान दिएका छन् । यस्ता सामग्री दिइरहँदा व्यक्तिको गोपनीयता र न्यायका अधिकारमा के असर पुर्‍याउँछ भन्ने प्रश्न पनि उठ्ने गरेको छ ।

युट्युब तथा सामाजिक सञ्जालमा प्रस्तुत हुने सामग्रीका सन्दर्भमा गोपनीयता कायम राख्न न्याय र अधिकारको सम्मान गर्नका लागि स्थानीय निकाय र अन्य सम्बन्धित निकायको चासो किन घट्दो छ रु यसबाट हाम्रा भविष्यका सन्ततिले के सिक्ने र के सिकिरहेका छन् भन्ने विषयमा गम्भीरता जनाउन जरुरी छ ।

सामाजिक सञ्जालमा सामग्री प्रस्तुत गर्ने धेरै युट्युबरले आफ्ना व्यक्तिगत जीवनका पक्ष, सामाजिक घटना र अरूका समस्यालाई सार्वजनिक गरिरहेका छन् । केही युट्युब च्यानलले न्यायको पक्षमा दबाब सिर्जना गरेको भन्दै व्यक्तिका निजी जीवन र घटनालाई अनावश्यक रूपमा उछाल्दै छन् । युट्युबरले न्यायको पक्षमा सामग्री प्रस्तुत गरिरहँदा त्यसको प्रभाव केवल सार्वजनिक ध्यानमा नपरी व्यक्तिगत अधिकार र गोपनीयतामा पनि पर्छ भन्ने ख्याल गर्नु जरुरी छ ।

गोपनीयता र न्यायका बीचमा सन्तुलन कायम राख्न अत्यन्त महत्त्वपूर्ण छ । जब कुनै युट्युबर न्यायको पक्षमा वा सामाजिक मुद्दामा बोल्नका लागि भिडियो सार्वजनिक गर्छन्, तिनीहरूको उद्देश्य प्रायः सकारात्मक हुन्छ । तर, यदि यिनीहरूले जनताको व्यक्तिगत विवरण, गुनासो वा अन्य संवेदनशील जानकारीलाई गोपनीयता उल्लंघन गरेर प्रस्तुत गर्छन् भने यसले कानुनी र नैतिक सवाल उत्पन्न गर्न सक्छ । नेपालजस्ता विकासशील राष्ट्रमा, जहाँ सामाजिक मापदण्ड र पारिवारिक संरचनामा अझै कडाइ कायम छ, यस्तो सामग्रीको सार्वजनिक प्रस्तुतिले गम्भीर परिणाम निम्त्याउन सक्छ ।

जब एक व्यक्तिको गोपनीयता उल्लंघन हुन्छ, विशेष गरेर पारिवारिक वा व्यक्तिगत समस्या सार्वजनिक हुन्छन् भने समाजमा उसको इज्जत र प्रतिष्ठामा असर पर्न सक्छ । यसले व्यक्ति र उनका परिवारको सामाजिक सम्मान घट्न सक्छ । गोपनीयता उल्लंघनले मानसिक तनाव, चिन्ता र डिप्रेसन निम्त्याउन सक्छ । व्यक्तिगत जीवनका संवेदनशील पक्षहरू सार्वजनिक हुँदा व्यक्तिले आत्म–संयमको कमी र चिन्ताजनक स्थितिमा आफूलाई पाउँछ ।

सार्वजनिक गोपनीयता उल्लंघनले व्यक्तिलाई समाजबाट अलग गर्न सक्छ, जसले गर्दा व्यक्तिको मानसिक र सामाजिक दायित्वमा कमी आउन सक्छ । उनीहरूले समाजमा आफ्ना सम्बन्ध स्थिर राख्न गाह्रो महसुस गर्न सक्छन् । गोपनीयता उल्लंघनले व्यक्तिगत जीवनका घटना सार्वजनिक गर्दा परिवारको व्यवसाय वा पेसामा असर पर्न सक्छ । आर्थिक गतिविधिमा आउने अस्थिरताले परिवारको आर्थिक स्थिति पनि बिग्रन सक्छ । यदि गोपनीयता उल्लंघनका कारण व्यक्तिको प्रतिष्ठामा धक्का लाग्छ भने उसलाई सेवा प्राप्त गर्नमा पनि समस्या हुन सक्छ ।

गोपनीयता उल्लंघनले व्यक्तिको राजनीतिक छवि र प्रतिष्ठामा गम्भीर असर पार्न सक्छ । व्यक्तिगत जानकारी सार्वजनिक हुँदा उसको नेतृत्व क्षमता र जनविश्वासमा कमी आउन सक्छ । यदि गोपनीयता उल्लंघनले राजनीतिक उद्देश्य वा विवादलाई बढावा दिन्छ भने यसले समाजमा विभाजन र राजनीतिक संघर्ष उत्पन्न गर्न सक्छ ।

गोपनीयता उल्लंघनका कारण व्यक्ति या समूहलाई प्रचार र कानुनी कारबाहीको सामना गर्न सक्छ । यसले कानुनी प्रक्रियामा समय र स्रोतको व्यय बढाउँछ, जसले समाज र राज्यलाई आर्थिक र राजनीतिक दबाबमा पार्न सक्छ । गोपनीयता उल्लंघनको प्रभाव केवल व्यक्तिगत जीवनमा मात्र सीमित हुँदैन, यसका गम्भीर असर सामाजिक, आर्थिक र राजनीतिक क्षेत्रमा पनि पर्न सक्छ । यसैले, गोपनीयता सम्मान गर्न र सुरक्षा उपाय अपनाउन अत्यन्त महत्त्वपूर्ण छ ।

प्रतिक्रिया