सांसद रानाद्वारा कर्णालीका विद्यार्थी र आंशिक प्राध्यापकका सुरक्षाको प्रत्याभूति गर्न माग

सांसद रानाद्वारा कर्णालीका विद्यार्थी र आंशिक प्राध्यापकका सुरक्षाको प्रत्याभूति गर्न माग

काठमाडौँ  –   कर्णाली प्रदेशमा गुणस्तरीय शिक्षा प्रदान गर्नका करिब १४ वर्षअघि स्थापित मध्यपश्चिम विश्वविद्यालय अहिले संकटको चपेटामा परेको छ । एकातिर विश्वविद्यालयको केन्द्रिय क्याम्पसमा पठनपाठन अवरुद्ध भएको छ भने अर्कोतिर आंशिक प्राध्यापकहरूले पेशागत अधिकार सुनिश्चितताको माग गर्दै असार २३ गतेदेखि अनशन र धर्ना जारी राखेका छन् ।

प्रतिनिधिसभा सदस्य सिताकुमारी रानाले विश्वविद्यालय नेतृत्वको भूमिकामाथि आलोचना गर्दै वर्तमान अवस्था दुखद र गैरजिम्मेवारपूर्ण भएको बताउनुभयो ।  उहाँले भन्नुभयो, “कर्णालीका विद्यार्थीको शिक्षामा असर पर्दासमेत विश्वविद्यालय पदाधिकारीहरू समस्याको समाधानतर्फ गम्भीर नहुनु अत्यन्त चिन्ताजनक छ।”

 विश्वविद्यालयको स्थापनाकालदेखि नै शैक्षिक सेवा दिइरहेका आंशिक प्राध्यापकहरूको पेशागत सुरक्षाका लागि विश्वविद्यालय नेतृत्वले पटक–पटक लिखित प्रतिबद्धता जनाउँदै आए पनि ती अहिलेसम्म कार्यान्वयनमा आउन सकेका छैनन् । हालै विश्वविद्यालयले गठन गरेको अध्ययन प्रतिवेदनसमेत बेवास्ता गरिएको आरोप आंशिक प्राध्यापकहरूबाट लगाइएको छ।

उता, शिक्षण कार्य ठप्प पार्दै आंशिक प्राध्यापकहरू अहिले विश्वविद्यालय केन्द्रिय कार्यालय अगाडि धर्ना र अनशनमा बसेका छन्। यसले कर्णालीका विद्यार्थीहरूको पढाइमा प्रत्यक्ष असर पारेको छ। अभिभावक तथा विद्यार्थीहरू पनि शिक्षा अवरुद्ध हुँदा निराश भएका छन् ।

सांसद रानाले विश्वविद्यालय पदाधिकारीहरू काठमाडौंमै सीमित रही सिनेटको तयारीमा मात्रै केन्द्रित हुनु गैरजिम्मेवार प्रवृत्तिको पराकाष्ठा भएको बताउँदै उनीहरूलाई तत्काल समस्या समाधानमा उत्रिन आग्रह गर्नुभयो । 'कर्णालीका विद्यार्थीको शैक्षिक अधिकार र आंशिक प्राध्यापकको पेशागत सुरक्षाको प्रत्याभूति तत्काल गरिनुपर्छ,' उहाँले भन्नुभयो ।

उहाँले विश्वविद्यालयको नेतृत्वलाई जिम्मेवार, उत्तरदायी र समस्यामुखी व्यवहार अपनाउन माग गर्दै कर्णालीका जनप्रतिनिधि, नागरिक समाज र विद्यार्थीहरूलाई पनि शिक्षा र अधिकारका पक्षमा एकजुट हुन आह्वान गर्नुभयो ।

प्रतिक्रिया