दैलेखमा असारको अन्तिमसम्म ६७ प्रतिशत रोपाइँ सम्पन्न

दैलेखमा असारको अन्तिमसम्म ६७ प्रतिशत रोपाइँ सम्पन्न

दैलेख- यस वर्षको असारको अन्त्यसम्म दैलेख जिल्लामा कुल धान उत्पादन हुने क्षेत्रफलको ६७ प्रतिशतमा रोपाइँ सम्पन्न भएको छ । जिल्ला कृषि विकास कार्यालय दैलेखका अनुसार जिल्लाभर कुल ७,९२५ हेक्टर धानखेतीयोग्य जमिनमध्ये हालसम्म करिब पाँच हजार ३ सय ९ हेक्टरमा धान रोपिएको छ ।

नारायण, भगवतीमाई, महाबु, डुङ्गेश्वर जस्ता मध्य तथा तल्लो भू:भाग भएका पालिकाहरूमा रोपाइँको गति उल्लेखनीय रूपमा अगाडि बढिरहेको कृषि विकास कार्यालय दैलेखका सूचना अधिकारी सुरेश वलीले जानकारी दिनुभयो । उहाँका अनुसार, “केही उच्च भू:भागहरूमा पानीको अभाव र सिँचाइको सुविधा नहुँदा रोपाइँमा ढिलाइ भएको छ । तर कुल रूपमा हेर्दा असारभरिको प्रगति सन्तोषजनक छ ।”
वलीका अनुसार यदि साउन महिनामा पनि मनसुन सक्रिय भई निरन्तर वर्षा भइरहेमा बाँकी क्षेत्रहरूमा पनि समयमा रोपाइँ सम्पन्न हुने अपेक्षा गरिएको छ । जिल्लामा हाल स्वदेशी जातसँगै उन्नत जातका धानहरू पनि व्यापक रूपमा लगाइएका छन ।

 पछिल्लो समय किसानहरू उन्नत जाततर्फ आकर्षित हुँदै गएकाले उत्पादनमा उल्लेखनीय वृद्धि हुने विश्वास लिइएको छ ।
धान दैलेख जिल्लाको प्रमुख खाद्यबाली हो । यहाँका अधिकांश ग्रामीण बासिन्दा कृषि पेशामा निर्भर छन । मौसम अनुकूल भई समयमा रोपाइँ सम्पन्न भएमा यो वर्ष धान उत्पादनमा सकारात्मक परिणाम आउने कृषि विकास कार्यालय दैलेखले ज्वाला सन्देशलाई जानकारी दिएको छ । 
 

प्रतिक्रिया