संस्कारको पुनःपरिभाषा

संस्कारको पुनःपरिभाषा

संस्कारको कुरा नगर्नुहोस् मसँग!
छोरोलाई — बैठक कोठामा सोफा दिएर
“बाबु, यो देश तिमीले चलाउने हो
भनेर भाषण सुनाउने...
तर छोरी?


“छोरी त भान्सामै राम्री देखिन्छ” भन्दै
भान्सा गयो कि संस्कार भयो भन्ठान्ने?
संस्कारको नाममा यस्तो विभेद?
धर्मको नाममा यस्तो दंश?
परम्पराको नाममा यस्तो पिँजरा?
म त्यस्तो घरबाट आएकी छैन जहाँ
छोरी तिमी लाज मान,
छोरी तिमी मिलाऊ टेबल,
छोरी तिमी... बोल्न हुन्न,
छोरी! तिमी चुप!!
होइन!


म त्यस्तो संस्कारबाट आएकी छु —
जहाँ छोरीले सोध्छे —
किन चुप बस्ने?
किन मैले मात्रै थाल पुछ्ने?
किन मैले चाँडै ब्युँझनुपर्ने?
बुबाले —
छोरीको झोलामा टिफिन हालेको
मैले देखेकी छु!
आमा बिहान चिया बनाउँदै गर्दा
दाजुले आफै लुगा धोएको,
मैले हेरेकी छु!


साँझ —
घर सफा गर्नु आमाको मात्र जिम्मा होइन,
यो मैले बुझेकी छु,
किनकि हाम्रो घरमा —
“हामी“ सफा गर्छौं, “उसले“ होइन।
म त्यो संस्कारबाट आएकी होइन जहाँ
चुपचाप लाजले ओठ चपाउने कुरा गरिन्छ।
म त्यो संस्कारबाट आएकी छु —
जहाँ बाबाले खाना पकाउनु कमजोरी होइन, जिम्मेवारी हो!
त्यो नै हो मेरो संस्कार!
जहाँ थाली धुने हात
लिङ्गले होइन, समझले छुट्याइन्छ!
जहाँ छोरीलाई सिकाइन्छ —
भोलि घर बुहारी बनेर होइन,
आज आफैको मान्छे बनेर बाँच!
हो! हो!! हो!!!


भूलचूक होला मबाट —
ए समाज, कहाँ थाहा थियो त मलाई?
भोक त हजुरलाई पनि लाग्दो रहेछ
तर भान्सामा पस्ने टर्न त मेरो मात्र रहेछ!
कसरी थाहा हुन्थ्यो?
दाइ सुतिरहँदा
भुइँ पुछ्नुपर्ने
भन्नु न —
यो के हो त? परम्परा? संस्कार?
कि घुसेको विष?
त्यो पनि यस्तो विष —
जहाँ छोरीको सपना ‘डोली’मा सिमित,
छोराको सपना ‘देश’मा फैलिएको!
तर अब होइन!
अब त्यो सपना होइन —
नयाँ ज्यान छ, नयाँ आत्मा!
नयाँ स्वर छ — नयाँ चाल छ!
म ’सीता’ मात्र होइन —
म ’सवाल’ पनि हुँ!
म ’संकोच’ मात्र होइन —
म ’संकल्प’ पनि हुँ!
अब नखोज्नु संस्कारको मोहर मसँग!
म नयाँ युगको आवाज हुँ —
म परिवर्तनको पहिलो हुंकार हुँ!
म ‘घर सम्हाल्ने’ मात्र होइन —
घर बनाउने ईंटा पनि हुँ!
अब नछुनु मलाई संस्कारको सुइरोले,
नछोप्नु मलाई परम्पराको पर्दाले,
र चुप नलगाउनु घातक चुप्पीले!
म उठेकी छु —
भुइँभरिको आवाज बोकेर,
हातभरिको क्षमता सम्हालेर,
र छातीभरिको घोसा लिएर!
त्यसैले —
संस्कारको कुरा नगर्नुहोस् मसँग!
किनकि म लाज होइन —
हुंकार हुँ!
दायित्व होइन —
अधिकार हुँ!
छाया होइन —
रात काटेर आउने बिहान हुँ!
संस्कारको कुरा नगर्नुहोस् मसँग!
संस्कार? त्यो तपाईंको एकलौटी सम्पत्ति होइन।
 

प्रतिक्रिया