बँदेलको आक्रमणमा परी दैलेखमा ६ जना घाइते

दैलेख – दैलेखको आठबिस नगरपालिका–३ स्थित जास्कीमा मकै बारीमा आएको बँदेलको आक्रमणबाट ६ जना स्थानीयवासी घाइते भएका छन्।
घटनामा आठबीस नगरपालिका–२ र ३ का ६ जना पुरुष घाइते भएको जिल्ला प्रहरी कार्यालय दैलेखका प्रमुख प्रहरी उपरीक्षक (एसपी) गणेशबहादुर बरालले जानकारी दिनुभयो। उनका अनुसार बँदेल मकै खान बारीमा आएको थियो । बँदेल धपाउन जम्मा भएका स्थानीयमाथि अकस्मात आक्रमण भएपछि उनीहरू घाइते भएका हुन्।
घाइतेमध्ये २३ वर्षीय डबल बडुवाल, २९ वर्षीय टेकबहादुर शाही, २२ वर्षीय विकास कार्की (तीनै जना आठबीस नगरपालिका–२) र ४५ वर्षीय रामबहादुर बडुवाल, निरज कार्की, तथा कमल कार्की (तीनै जना आठबीस नगरपालिका–३) रहेका छन्।
प्रहरीका अनुसार सबै घाइतेको उपचारका लागि सुर्खेतस्थित प्रदेश अस्पताल कालागाउँमा पठाइएको छ। उनीहरूको स्वास्थ्य अवस्था मध्यम रहेको जनाइएको छ।
स्थानीयवासीले वन्यजन्तुका कारण वर्षेनि मकैबारीमा क्षति पुग्ने गरेकाले सम्बन्धित निकायको ध्यानाकर्षण समेत गराएका छन्। पछिल्लो समय वन्यजन्तु बस्ती नजिक आइपुग्दा सुरक्षा चुनौतीसमेत बढेको स्थानीयको भनाइ छ।
प्रतिक्रिया