सोसेकको १८ औं संस्थागत सामाजिक तथा लैङ्गिक परीक्षण सम्पन्न

स्थानीय सरकार र सरोकारवालाबाट उत्कृष्ट कार्यको प्रशंसा

सोसेकको १८ औं संस्थागत सामाजिक तथा लैङ्गिक परीक्षण सम्पन्न

दैलेख -   सामाजिक क्षेत्रमा सक्रिय सोसेक नेपालले बृहत् रूपमा आफ्नो १८औं संस्थागत सामाजिक तथा लैङ्गिक परीक्षण कार्यक्रम सम्पन्न गरेको छ । महिला, बालबालिका, दलित, अपाङ्गता भएका व्यक्ति, विपन्न तथा लोपोन्मुख राउटे समुदायका क्षेत्रमा काम गर्दै आएको सो संस्था विगत २७ वर्षदेखि सामाजिक रूपान्तरणको अभियानमा सक्रिय छ ।

कार्यक्रममा जिल्ला समन्वय समिति दैलेखका प्रमुख नवराज शाही प्रमुख अतिथि रहनुभएको थियो । उहाँले सोसेक नेपालको कार्यशैली अन्य गैरसरकारी संस्थाले पनि अनुकरण गर्नुपर्ने बताउनुभयो । “कतिपय संस्थाले कागजमा मात्र काम देखाउँछन्, तर सोसेकले वास्तविक समुदायमा पुगेर परिवर्तन ल्याएको छ,” उहाँले भन्नुभयो ।

त्यस्तै, दुल्लु नगरपालिका–८ का वडाध्यक्ष सुशील भण्डारीले संस्थाका सबै क्रियाकलाप पारदर्शी, लेखा परीक्षणसहित र सुशासनयुक्त भएको बताउँदै त्यसप्रति विश्वास व्यक्त गर्नुभयो ।

कार्यक्रममा सोसेक नेपालका कार्यकारी निर्देशक हीरा सिंह थापाले हाल संस्था १० जिल्लामा २४० कर्मचारीसहित सक्रिय रहेको जानकारी दिनुभयो । उहाँले समुदायस्तरमा कार्यक्रम विस्तार गर्दै लैजाने योजना रहेको उल्लेख गर्दै भन्नुभयो, “समुदाय रूपान्तरणको पहिलो सर्त व्यक्ति स्वयंको परिवर्तन हो ।”

संस्थाले असमानता, महिला हिंसा, बालविवाह, महिनावारी विभेद, शिक्षा, स्वास्थ्य, खानेपानी, पोषण तथा आयआर्जनका क्षेत्रमा विभिन्न क्रियाकलाप गर्दै आएको छ । सोसेकले लोपोन्मुख राउटे तथा कुसुण्डा समुदायको सामाजिक समावेशीकरणमा पनि विशेष ध्यान दिएको जनाएको छ।

कार्यक्रममा गैसस महासंघ दैलेखकी अध्यक्ष डिलकुमारी चन्दले संस्थाले साँचिकै रूपमा समुदायमा पुगेर परिवर्तन ल्याइरहेको बताउनुभयो । आगामी दिनमा महिनावारी विभेद, महिला हिंसा र छुवाछुतजस्ता समस्यालाई न्युनिकरण गर्दै दिगो विकासका कार्यक्रम अघि बढाउनुपर्ने उहाँको धारणा थियो ।

ठाँटीकाँधस्थित बिजारे बाल क्लबकी कोषाध्यक्ष अनुजा विष्टले सोसेक नेपाल समाज, विद्यालय र परम्परामै टेकेर बालबालिका र समुदायमा सकारात्मक योगदान दिँदै आएको बताउनुभयो ।

कार्यक्रममा राजनीतिक दल, संघसंस्था, सरकारी तथा गैरसरकारी कार्यालयका प्रतिनिधि, पत्रकार, सरोकारवाला लगायतको उल्लेखनीय उपस्थिति रहेको थियो। कार्यक्रमको संयोजन बालसंरक्षक तथा लैङ्गिक परीक्षण संयोजक नविनचन्द्र घिमिरेले गर्नुभएको थियो।

संस्थागत सामाजिकतथा लैङ्गिक परिक्षण कार्यक्रममा उठेका प्रश्नहरुको समिक्षागर्दै सोसेक नेपालकि  अध्यक्ष मन्जु खड्काले मन बचन र कर्मले दृढताका साथअघिबढेमा संस्था र समुदायका लागि समुदायमा रहेको कुरीति, कुसँस्कार, महिला हिंसा, बालविवाह, महिनावारी विभेद लगायतका समस्या निर्मुल हुँदै जाने बताउनु भयो ।

प्रतिक्रिया