सोसेक नेपालको बार्षिक समिक्षा, क्षमता विकास योजना तथा रणनैतीक गोष्ठी कार्यक्रम सम्पन्न

सोसेक नेपालको बार्षिक समिक्षा, क्षमता विकास योजना तथा रणनैतीक गोष्ठी कार्यक्रम सम्पन्न

दैलेख -   सामाजिक रूपान्तरणको अभियानमा सक्रिय सोसेक नेपालको वार्षिक समीक्षा, क्षमता विकास योजना तथा रणनीतिक गोष्ठी कार्यक्रम सम्पन्न भएको छ। शनिबारदेखि सुरु भएको दुईदिने गोष्ठी आइतबार समापन भएको हो।

सामाजिक रूपान्तरणका क्षेत्रमा करिब तीन दशकदेखि कार्यरत सोसेक नेपाल दैलेखले विपन्न, गरिब, महिला, बालबालिका, दलित, अपांगता भएका व्यक्ति तथा लोपोन्मुख राउटे र कुसुण्डा समुदायमाझ काम गर्दै आएको छ। नाफा नकमाउने सामाजिक संस्था भएको नाताले संस्था निरन्तर समुदाय रूपान्तरणमा समर्पित छ।

कार्यक्रममा बोल्दै सोसेक नेपालकी अध्यक्ष मञ्जु खड्काले संस्थाका पदाधिकारी, सदस्य र कर्मचारीबीच समन्वय, सहकार्य र कामप्रति वफादारी आवश्यक रहेको बताउनुभयो । उहाँले कार्य सम्पादनमा समस्या र चुनौती आउन सक्ने भन्दै त्यसलाई संस्थागत गोपनीयता पालनासहित हेल्प डेस्कमार्फत समाधान गर्न अनुरोध गर्नुभयो ।

'हामी संस्थामा रहन्छौं या रहँदैनौं त्यो महत्वपूर्ण छैन, संस्था निरन्तर रहनुपर्छ र त्यसैबाट समाज परिवर्तन सम्भव हुन्छ,' अध्यक्ष खड्काले भन्नुभयो । उहाँले गोष्ठीमा सिकिएका कुरालाई फिल्डमा कार्यान्वयन गर्नुपर्नेमा जोड दिनुभयो ।

कार्यक्रममा कार्यकारी निर्देशक हीरा सिंह थापाले, 'संस्थालाई जीवन्त बनाउने मुख्य आधार कर्मचारी संयन्त्र हो,' भन्दै संस्थाका कार्यक्रमहरु असमानता, महिला हिंसा, बालविवाह, महिनावारी विभेद, शिक्षा, स्वास्थ्य, पोषण, लोपोन्मुख समुदाय, तथा आयआर्जन क्षेत्रमा केन्द्रित रहेको जानकारी दिनुभयो ।

उहाँले सामाजिक समावेशीकरणमा संस्था विशेष ध्यान दिइरहेको उल्लेख गर्दै सबैलाई ‘शून्य सहनशीलता’ नीति अपनाई जिम्मेवारी पूरा गर्न आग्रह गर्नुभयो ।

संस्थाका सदस्य सुजन न्यौपानेले प्रगतिप्रति सन्तुष्टि व्यक्त गर्दै, “सबै परियोजनाका प्रगतिहरू प्रशंसनीय छन्। अब आउँदा दिनमा अझ दक्षता अभिवृद्धि गरी समाज परिवर्तनमा योगदान दिनुपर्नेछ,” बताउनुभयो ।

त्यसैगरी उपाध्यक्ष कबिराज रिजालले “स्वस्थ शरीरमा मात्र राम्रो कार्य सम्भव हुन्छ” भन्ने उदाहरण दिँदै संस्थाका विषयमा सबै एकजुट भएर काम गर्नुपर्ने आवश्यकता औंल्याउनुभयो । २४ वटा कार्यक्रमहरुकाे ग्यालरी प्रदशनि मार्फत क्रियाकलाप र प्रगतिहरु  प्रदशनि गरीएकाे थियाे ।

कार्यक्रममा सामाजिक परीक्षणको सहजीकरण नविन चन्द्र घिमिरेले गर्नुभएको थियो ।

 

प्रतिक्रिया