बालबालिकामाथि बढ्दो हिंसाप्रति सरकारको ध्यानाकर्षण

बालबालिकामाथि बढ्दो हिंसाप्रति सरकारको ध्यानाकर्षण

काठमाडौँ   –  प्रतिनिधिसभा सदस्य सिता कुमारी रानाले बालबालिकामाथि बढ्दो दुव्र्यवहार, हिंसा, श्रमशोषण र यौन दुर्व्यवहारप्रति गहिरो चिन्ता व्यक्त गर्नुभएको छ । बिहीबार संसदको शून्य समयमा बैठकमा बोल्दै उहाँले बालबालिका सुरक्षित हुनुपर्ने संवैधानिक प्रत्याभूतिका बाबजुद उनीहरू भय, जोखिम र उत्पीडनको अवस्थामा बाँचेको उल्लेख गर्दै सरकारको ध्यानाकर्षण गराउनुभयो ।

“आज देशका विभिन्न भागमा निर्दोष बालबालिकामाथि हुने दुव्र्यवहार, हिंसा, श्रमशोषण र यौन दुर्व्यवहारका घटना दिनप्रतिदिन बढ्दै गइरहेका छन्,” सांसद रानाले भन्नुभयो, “यी घटनाहरूले केवल बालबालिकाको भविष्य होइन, हाम्रो समाजको नैतिकता र मानवता नै खतरामा पारेका छन्।”

उहाँका अनुसार आर्थिक वर्ष २०८०÷८१ मा मात्रै बाल यौन दुव्र्यवहारका ३६३ मुद्दा, बाल विवाहका ५२ मुद्दा, मानव बेचविखनका १६६ मुद्दा दर्ता भएका छन्।

त्यस्तै, साइबर ब्यूरोको तथ्यांकअनुसार सन् २०२३ र २०२४ मा बालबालिकामाथि साइबर हिंसाका ६३५ मुद्दा दर्ता भएका छन्, जुन अघिल्लो वर्षको तुलनामा २६०.८ प्रतिशतले वृद्धि हो । सन् २०२२÷२३ मा यस्ता मुद्दाको संख्या केवल १७६ थियो ।

सांसद रानाले भन्नुभयो, “शिक्षा, सुरक्षा र सम्मान पाउनु बालबालिकाको मौलिक हक हो । तर राज्य संयन्त्रको कमजोरी, कानुन कार्यान्वयनको ढिलासुस्ती र सामाजिक चेतनाको अभावले गर्दा सयौं बालबालिका आज पनि जोखिममा छन् ।”

सांसद रानाले बालबालिकाको संरक्षणका लागि नीतिगत कडाइ, प्रभावकारी कानुन कार्यान्वयन, पीडितमैत्री सेवा र अभिभावक तथा विद्यालयस्तरमै चेतनामूलक कार्यक्रम आवश्यक रहेकोमा जोड दिनुभयो ।

प्रतिक्रिया