केन्द्रीय विभागमा अत्यधिक शुल्कविरुद्ध त्रिवि विद्यार्थीको धर्ना

काठमाडौँ - त्रिभुवन विश्वविद्यालयअन्तर्गत हालै केन्द्रीय विभागमा गाभिएका केही नयाँ विभागहरूमा अत्यधिक शुल्क तोकिएको भन्दै विद्यार्थीहरूले आन्दोलन सुरु गरेका छन्।
अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी यूनियन (क्रान्तिकारी), त्रिभुवन विश्वविद्यालय जिल्ला समितिको अगुवाइमा बुधबारदेखि विश्वविद्यालयको उपकुलपति कार्यालयमा धर्ना सुरु गरिएको हो ।
आन्दोलनमा सहभागी विद्यार्थीहरूले “शिक्षामा शोषण बन्द गर”, “शुल्क तुरुन्त घटाउ”, “गरिब विद्यार्थीको छातीमा गोली”, “केन्द्रीय विभागको नीतिमा झोली” जस्ता नारासहित प्लेकार्ड बोकेर प्रदर्शन गरेका थिए ।
केन्द्रीय विभागमा गाभिएका विभागहरूमा शुल्क अत्यधिक राखिएको छ, जसले गरिब तथा मध्यमवर्गीय विद्यार्थीहरूलाई ठूलो आर्थिक बोझ थोपरेको छ र यस्तो निर्णय तत्काल फिर्ता लिनुपर्ने आन्दोलन संयोजक मनिष चम्लागाईंले बताउनुभयो ।
यूनियनले माग पुरा नभए थप सशक्त आन्दोलनको चेतावनी समेत दिएको छ। उहाँका अनुसार, असार ३१ गते त्रिवि प्रशासनलाई बुझाइएको १८ बुँदे मागपत्रमा शुल्क समायोजन प्रमुख माग रहेको थियो । सो माग सम्बोधन गर्न १० दिने अल्टिमेटम दिइएको भए पनि विश्वविद्यालय प्रशासनबाट कुनै प्रतिक्रिया नआएपछि चरणबद्ध आन्दोलनको घोषणा गरिएको हो ।
यसबारे त्रिवि प्रशासनले हालसम्म कुनै आधिकारिक प्रतिक्रिया जनाएको छैन।
प्रतिक्रिया