दैलेखमा 'गफर युथ' भेला सम्पन्न

बालविवाह अन्त्यका लागि सामूहिक चेतना आवश्यक रहेको निष्कर्ष

दैलेखमा 'गफर युथ' भेला सम्पन्न

दैलेख  –  नारायण नगरपालिका–१ टुँडीखेलमा बिहीबार 'गफर युथ' अभियानअन्तर्गत बालविवाहविरुद्ध युवा भेला सम्पन्न भएको छ। कार्यक्रममा सहभागी युवाहरूले बालविवाह सम्बन्धी गहिरा अनुभूति, विचार र अनुभव साझा गर्दै बालविवाह अन्त्यका लागि सामूहिक चेतना आवश्यक रहेको निष्कर्ष निकालेका हुन् ।

कार्यक्रमका प्रमुख वक्ता चेतन गिरीले बालविवाह बुझ्नुअघि विवाह के हो भन्ने प्रश्नमा गम्भीरतापूर्वक विचार गर्नुपर्ने बताउनुभयो । उहाँले लिङ्गीय दृष्टिकोणबाट विषयको विश्लेषण गर्नुपर्ने आवश्यकता औंल्याउँदै भन्नुभयो, “नीति निर्माणमै विवाह गर्न पाउने उमेर स्पष्ट रूपमा उल्लेख नभएको कमजोरी रहेको छ, जसले बालविवाह न्यूनीकरणमा चुनौती थपेको छ।”

प्रेस सेन्टर दैलेखका अध्यक्ष तिर्थ भण्डारीले बालविवाह नगर्दा समाजमा देखिने सकारात्मक परिवर्तनहरूबारे पनि जनचेतना फैलाउनु आवश्यक रहेको बताउनुभयो । उहाँका अनुसार बालविवाह मात्र रोक्ने हैन, त्यसको विकल्प र सशक्तिकरणका उपायहरू पनि खोजिनु पर्छ।

कार्यक्रममा बालिकाहरू घरभित्रै असुरक्षित महसुस गर्ने, शिक्षा अभाव, देखासिकी तथा चप्पल जस्ता सामान्य कारणले समेत विवाह गरिनुपर्ने बाध्यताहरूबारे गम्भीर छलफल भएको थियो ।

नेपाल पत्रकार महासंघ दैलेखका अध्यक्ष अमर सुनारले “जनचेतना धेरै भए पनि व्यवहारिक चेतनाको अभाव देखिन्छ। समाजले नै बालविवाहलाई स्वीकार गर्दै आएको छ, जसलाई हटाउन सबैले आ–आफ्नो स्थानबाट सक्रिय भूमिका खेल्न जरुरी छ,” भन्दै बालविवाह न्यूनीकरणमा सबैको सहभागिता अपरिहार्य रहेको बताउनुभयो ।

सहभागी विशाल सुनार, लोकेश गिरी, आरती गौतम लगायतले देखासिकी र समाजको परम्परागत सोचका कारण बालविवाह बढ्दै गएको धारणा राख्नुभएको थियो ।

झण्डै ३० जना युवा सहभागी रहेको यस भेलाले सामाजिक स्वीकृतिका नाममा कायमै रहेको बालविवाहविरुद्ध सामूहिक चेतना र आवाज उठाउन युवा पुस्तालाई प्रेरणा दिएको आयोजकहरूले जनाएका छन् ।

कार्यक्रम समापन गर्दै चेतन गिरीले भन्नुभयो, “बालविवाह हटाउने कार्य सबैको साझा जिम्मेवारी हो। यसका लागि फरक–फरक क्षेत्रको भूमिका भए पनि हामी एक्यबद्ध भएर अगाडि बढ्नुपर्छ।”

प्रतिक्रिया