मुगु र हुम्ला जिल्ला जोडिए बेलिब्रिजले

सुर्खेत – मुगु र हुम्ला जिल्लालाई बेलिब्रिजले जोडिएको छन् । हुम्लाको चंङ्खेली गाउँपालिका–२ र ४ को सिमानामा पर्ने लोतीखोलामा निर्माण गरिएको बेलिब्रिज सञ्चालनमा आएसँगै दुई जिल्लाबीच सडक सञ्जालले जोडिएका हुन् ।
दुई जिल्लालाई जोड्ने तोली कर्णाली नदीमाथिको बेलिब्रिज कर्णाली प्रदेशका पूर्वमुख्यमन्त्री जीवनबहादुर शाहीले उद्घाटन गर्नुभयो ।
पूर्वमुख्यमन्त्री शाहीले मुगु, जुम्ला हुँदै अन्य प्रदेश राजधानी र तराईका जिल्लासँग हुम्ला सदरमुकाम सिमकोटको पहुँच स्थापित भएको बताउनुभयो । ‘२०५५ सालदेखि सुरु गरिएको हुम्ला सडक अभियान अहिले आएर साकार हुँदैछ,’ उहाँले भन्नुभयो, ‘तीन तहका सरकार र जनस्तरको निरन्तर प्रयासले यो उपलब्धि सम्भव भएको हो ।’
कर्णाली प्रदेश सरकारको भौतिक पूर्वाधार तथा सहरी विकास मन्त्रालयअन्तर्गत पूर्वाधार विकास निर्देशनालय, जिल्लास्थित पूर्वाधार विकास कार्यालयसँग २०८१ साल मंसिर २३ गते कङ्ग्री निर्माण सेवासँग बेलिब्रिज निर्माणका लागि सम्झौता गरिएको खार्पुनाथ गाउँपालिकाका अध्यक्ष प्यारीलाल शाहीले बताउनुभयो । ‘हाम्रो पालिकाका तीन वडाका नागरिकले पालिकाको केन्द्र पिप्लाङ आउन तुइनको जोखिमपूर्ण यात्रा गर्नुपर्ने अवस्था थियो,’ उनले भने, ‘त्यो बाध्यता बेलिब्रिज सञ्चालनमा आएपछि हटेको छ।’
चार करोड ९८ लाख रुपैयाँमा निर्माण भएको यो बेलिब्रिज ४२ मिटर लम्बाइ, १० मिटर उचाइ र ३.१५ मिटर चौडाइको छ ।
प्रतिक्रिया