भैरवी १ जलजलेमा अस्थायी प्रहरी चौकी स्थापना

भैरवी १ जलजलेमा अस्थायी प्रहरी चौकी स्थापना

दैलेख -   दैलेखको भैरवी गाउँपालिका–१, जलजलेमा नयाँ अस्थायी प्रहरी चौकी स्थापना गरिएको छ। जिल्लाको सुरक्षा अवस्था, सडक दुर्घटना, पेट्रोलियम उत्खनन्, नदीजन्य जोखिम तथा विपद् व्यवस्थापनका चुनौतीहरूलाई ध्यानमा राख्दै यो चौकी स्थापना गरिएको हो।

स्थानीय पालिका, सुरक्षा समिति र बासिन्दाहरूको संयुक्त पहलमा आयोजित कार्यक्रममा प्रमुख जिल्ला अधिकारी वर्दीनाथ गैरे र भैरवी गाउँपालिकाकी उपाध्यक्ष देवी भण्डारीले चौकीको औपचारिक उद्घाटन गरे। उद्घाटन कार्यक्रममा वडा अध्यक्षहरू, जिल्ला प्रहरी कार्यालय दैलेखका प्रमुख गणेशबहादुर वराल, नेपाली सेनाको कालीदत्त गुल्म प्रमुख, सशस्त्र प्रहरी बल दैलेख गुल्म प्रमुखलगायत सुरक्षा निकायका प्रतिनिधि तथा स्थानीयको उपस्थिति रहेको थियो।

प्रमुख जिल्ला अधिकारी गैरेले जलजले क्षेत्रलाई अति संवेदनशील र गौरवको आयोजनाको केन्द्रका रूपमा चिनाउँदै चौकी स्थापनाले अपराध नियन्त्रण, विपद् व्यवस्थापन तथा सवारी सुरक्षा सुदृढीकरणमा महत्वपूर्ण योगदान पुर्‍याउने विश्वास व्यक्त गर्नुभयो ।

कार्यक्रममा जिल्ला प्रहरी कार्यालय दैलेखका प्रमुख वरालले चौकी स्थायी बनाउने प्रक्रिया अघि बढाउन जग्गा व्यवस्थापनमा स्थानीयको सक्रियता आवश्यक रहेको बताउनुभयो । “पेट्रोलियम उत्खनन् क्षेत्रको सुरक्षा, सवारी दुर्घटनाको न्यूनिकरण तथा स्थानीय सुरक्षालाई बलियो बनाउन चौकी स्थापना गरिएको हो,” उहाँले स्पष्ट पार्नुयो ।

गाउँपालिकाकी उपाध्यक्ष भण्डारीले चौकी स्थापनालाई सुरक्षा तथा नागरिक जीवनसँग प्रत्यक्ष सरोकार राख्ने महत्वपूर्ण कदमको रूपमा व्याख्या गर्दै स्थानीयवासी तथा पालिकाले आवश्यक सहयोग गर्ने प्रतिबद्धता जनाउनुभयो ।

हाल दैलेख जिल्लामा १ जिल्ला प्रहरी कार्यालय, ३ इलाका प्रहरी कार्यालय, प्रहरी चौकी, अस्थायी प्रहरी चौकी, ट्राफिक कार्यालय, अदालत सुरक्षा र प्रशासन सुरक्षा गार्डसमेत गरी ३१ स्थानमा सुरक्षाको पहुँच विस्तार गरिएको भएपनि अझै केही स्थानमा सुरक्षा चुनौती कायमै रहेको स्थानीयको भनाइ छ।

प्रतिक्रिया