सडकले ओगटेका जग्गा समस्या समाधान गर्न सांसद रानाको आग्रह

सडकले ओगटेका जग्गा समस्या समाधान गर्न सांसद रानाको आग्रह

काठमाडौँ -  प्रतिनिधि सभा सदस्य सीता कुमारी रानाले सडकले ओगटेका जग्गाको समस्या समाधानका लागि सरकारलाइ आग्रह गनुभएको छ । बुधवार संसदमा बोल्दै उहाँले सुर्खेत–दैलेख सडक तथा कर्णाली र मध्यमहाडी राजमार्ग आसपासका बस्तीहरूमा सडकले ओगटेका तथा सडक क्षेत्रभित्र परेका जग्गाको समस्या तत्काल समाधान गर्न सरकारसँग आग्रह गर्नुभयो । 

 विगतमा सडक निर्माणका क्रममा सडकभित्र परेका नागरिकका जग्गाहरूको लागतकट्टा (क्षेत्रफल कटौती) नहुँदा आजसम्म पनि उनीहरूले पुरानै क्षेत्रफलअनुसार मालपोत कर तिर्नुपर्ने बाध्यता रहेको बताउनुभयो । 'दर्ता, लालपूर्जा र फिल्ड नक्साबीचको मिलान नमिल्दा जनतामा अन्योल, काममा झन्झट र आर्थिक भार बढिरहेको छ,' उहाँले भन्नुभयो, 'यस समस्याको तत्काल र दीर्घकालीन समाधान आवश्यक छ ।'

सांसद रानाले सडकभित्र परेका जग्गाको पूर्ण नापजाँच (पुनः सर्वे) गरी मापदण्डअनुसार लालपूर्जामा वास्तविक क्षेत्रफल कटौती गरी अभिलेखीकरण गर्न,  एकद्वार सहजीकरण प्रणाली अन्तर्गत मालपोत कार्यालय, नापी विभाग, सडक विभाग र स्थानीय पालिकालाई समेटेर संयुक्त डेस्क सञ्चालन गर्न सरकारलाई आग्रह गर्नुभयो । 

त्यस्तै सडकले असर गरेका पीडित परिवारहरूलाई कर तथा कागजात दस्तुरमा विशेष छुटको व्यवस्था गरियोस्। सडकका लागि जग्गा गुमाएका नागरिकले उही जग्गामा दोहोरो रूपमा कर तिर्न नपर्ने सुनिश्चितता गर्नुपर्ने बताउनुभयो ।

उहाँले सरकारलाई यस्ता समस्यामा ढिलाइ नगरी नागरिकमैत्री कदम चाल्न आग्रह गर्दै जनताको भूमिसम्बन्धी अधिकार रक्षा गर्नु राज्यको दायित्व भएको स्मरण गराउनुभयो ।

प्रतिक्रिया