बहुविवाहसम्बन्धी कानुनी मस्यौदाविरुद्ध महिला संघले बुझायो ज्ञापनपत्र

बहुविवाहसम्बन्धी कानुनी मस्यौदाविरुद्ध महिला संघले बुझायो ज्ञापनपत्र

दैलेख - नेपाल महिला संघ जिल्ला कार्यसमिति दैलेखले विशेष परिस्थितिमा बहुविवाहलाई कानुनी मान्यता दिने गरी तयार गरिएको कानुनी मस्यौदाप्रति आपत्ति जनाउँदै जिल्ला प्रशासन कार्यालयमार्फत नेपाल सरकारलाई ज्ञापनपत्र बुझाएको छ।

संघले बुधवार प्रमुख जिल्ला अधिकारी वद्रीनाथ गैरेको कार्यकक्षमा पुगेर उक्त ज्ञापनपत्र बुझाएको हो । ज्ञापनपत्र बुझाउने टोलीमा नेपाल महिला संघ दैलेखकी कार्यवाहक अध्यक्ष दुर्गा श्रेष्ठ, नेपाली कांग्रेस कर्णाली प्रदेश कमिटी सदस्य निर्मला थापा खड्का लगायतका पदाधिकारीहरूको उपस्थिति थियो ।

सरकारले विवाहित पुरुषलाई विशेष परिस्थितिमा दोस्रो विवाह गर्न अनुमति दिने प्रावधानसहित कानुनी मस्यौदा ल्याउन लागेको समाचारप्रति गम्भीर ध्यानाकर्षण गराउँदै महिला संघले उक्त प्रस्तावले महिला अधिकार र लैंगिक समानतामाथि प्रत्यक्ष प्रहार गर्ने जनाएको छ।

ज्ञापनपत्रमा भनिएको छ, “नेपाल सरकार कानुन, न्याय तथा संसदीय मामिला मन्त्रालयद्वारा ल्याउन लागिएको उक्त कानुनले महिलाहरूलाई फेरि एकपटक दासत्वतर्फ धकेल्ने खतरा देखिन्छ। महिला समानताको नाममा केही व्यक्तिहरूको अवाञ्छित इच्छा पूरा गर्ने प्रयासलाई स्वीकार गर्न सकिँदैन ।”

संघले संविधान, मानवअधिकार र विगतका महिला आन्दोलनबाट प्राप्त उपलब्धिहरूमाथि कुठाराघात गर्ने गरी ल्याइएका यस्ता कानुनी मस्यौदाहरू तत्काल फिर्ता लिन माग गरेको छ ।

प्रतिक्रिया