विरेन्द्रनगरमा अन्तरपुस्ता संवाद सम्पन्न

सुर्खेत - विरेन्द्रनगर नगरपालिका वडा नं- ४ मा लैङ्गिक तथा यौनिक अल्पसंख्यक बालबालिका र युवाहरूको अधिकार, जीवन अनुभव, र सामाजिक स्वीकृति विषयक अन्तरपुस्ता संवाद कार्यक्रम सम्पन्न भएको छ। कार्यक्रम सेभ द चिल्ड्रेन र सोसेक नेपालको साझेदारीमा सञ्चालित लैङ्गिक तथा यौनिक अल्पसंख्यक बालबालिका र युवाहरूको अधिकार संरक्षण तथा समावेशिता प्रवर्द्धन परियोजना अन्तर्गत आयोजना गरिएको हो।
वडा अध्यक्ष रामकृष्ण नेपालीको अध्यक्षतामा सम्पन्न कार्यक्रममा वडा सदस्य, कार्यपालिका सदस्य, शिक्षक, अभिभावक, बालबालिका तथा लैङ्गिक तथा यौनिक अल्पसंख्यक समुदायका व्यक्तिहरू गरी करिब ४० जनाको सहभागिता रहेको थियो। कार्यक्रमको सञ्चालन परियोजना संयोजक प्रभा डाँगीले गर्नुभएको थियो।
कार्यक्रममा सहभागीहरूले विभिन्न पुस्ताबीच लैङ्गिक तथा यौनिक अल्पसंख्यक समुदायप्रति रहेको बुझाइमा एकरूपता ल्याउने, पारस्परिक सोच र दृष्टिकोणमा रहेको अन्तर मेटाउने, र सामाजिक स्वीकार्यता कायम गर्ने वातावरण निर्माण गर्नुपर्नेमा जोड दिनुभयो ।
वडा अध्यक्ष नेपालीले लैङ्गिक तथा यौनिक अल्पसंख्यकप्रति समाजमा अझै पनि पूर्वाग्रहपूर्ण दृष्टिकोण रहेको उल्लेख गर्दै समुदाय, परिवार र विद्यालयको भूमिकालाई सक्रिय र सकारात्मक बनाउन आवश्यक रहेको बताउनुभयो ।
त्यस्तै, नगरकार्यपालिका सदस्य टिका घलेले तीनै तहका सरकारहरूले यस समुदायका अधिकार सुनिश्चित गर्नुपर्ने भए पनि कार्यान्वयन पक्ष कमजोर रहेकाले जिम्मेवार निकायलाई निरन्तर दबाब दिनुपर्ने धारणा राख्नुभयो ।
साथै, नगरपालिकाले यस समुदायका लागि बजेट विनियोजन गर्दै आएको र आत्मनिर्भरता वृद्धि गर्ने कार्यक्रममा सहभागी भइ बजेटको प्रभावकारी उपयोग गर्न सकिने विश्वास व्यक्त गर्नुभयो ।
कार्यक्रममा लैङ्गिक तथा यौनिक अल्पसंख्यक समुदायका सदस्यहरूले आफ्नो लैङ्गिक पहिचान खुला रूपमा स्वीकृत गराउनका लागि भोगेका सामाजिक र पारिवारिक संघर्ष, भेदभाव, मानसिक दबाव र सामाजिक बहिष्कारका अनुभवहरू साझा गरेका थिए । बालबालिका र अभिभावकबीच यस विषयमा रहेको बुझाइमा सुधार ल्याउन संवादमार्फत सशक्त छलफल भएको आयोजकले जनाएको छ ।
प्रतिक्रिया