शुभकालिकामा देउडा गीतमार्फत लैङ्गिक हिंसा न्यूनीकरणको सन्देश

कालिकोट - युरोपियन युनियन र संयुक्त राष्ट्र संघीय जनसंख्या कोष (यूएनएफपीए) को आर्थिक सहयोग तथा स्थानीय तहहरूको समन्वय र साझेदारीमा सोसेक नेपाल दैलेखद्वारा सञ्चालित “सशक्त महिला, समृद्ध नेपाल” (ईडब्ल्यूपीएन) कार्यक्रमअन्तर्गत कालिकोटको शुभकालिका गाउँपालिका–३ आरुखडामा आयोजित देउडा गीत कार्यक्रममा लैङ्गिक हिंसा न्यूनीकरणको सशक्त सन्देश प्रवाह गरिएको छ।
कार्यक्रमको मूल उद्देश्य नेपालमा लैङ्गिक समानता, महिला र बालिकाहरूको सशक्तिकरण, आर्थिक सबलीकरण तथा लैङ्गिक हिंसा रोकथामलाई सुदृढ गर्दै “समृद्ध र विकसित नेपाल” निर्माण गर्ने राष्ट्रिय संकल्पलाई मूर्त रूप दिनु हो। उक्त कार्यक्रम सन् २०२४ देखि कालिकोटको शुभकालिका गाउँपालिका, दैलेखको नारायण नगरपालिका, सुर्खेतको वीरेन्द्रनगर नगरपालिका तथा सन् २०२५ देखि कालिकोटको खाँडाचक्र नगरपालिका र रुकुम पश्चिमको सानीभेरी गाउँपालिकामा सञ्चालन भइरहेको छ।
शुभकालिकामा विद्यालयका किशोर–किशोरीका लागि रूपान्तरण कक्षा, परिवार संवाद, अन्तरपुस्ता संवाद कार्यक्रम, स्थानीय संघ–संस्था तथा अगुवासँगको अन्तरक्रिया, समुदायमा आधारित चेतनामूलक गतिविधि, बाल क्लब र ‘चेन्ज एजेन्ट’ परिचालनजस्ता गतिविधिहरू हुँदै आएका छन्। यसअन्तर्गत, समुदायमा विद्यमान हानिकारक सामाजिक मूल्य–मान्यता न्यूनीकरण गर्दै लैङ्गिक हिंसा प्रभावितलाई उपलब्ध प्रतिकार्य सेवा र सेवा प्रदायकबारे जानकारी गराउने कार्यमा जोड दिइएको छ।
यसै सन्दर्भमा, जनै पूर्णिमाको अवसरमा निराक्लो देवताको मेला भर्न पुगेका स्थानीय महिला–पुरुषहरूले देउडा गीतमार्फत लैङ्गिक विभेद र हिंसा विरुद्ध सन्देश प्रेषण गरेका थिए। सहभागीहरूले यूएनएफपीए र सोसेक नेपालको पहललाई सराहना गर्दै गाउँ–गाउँमा यस्ता कार्यक्रमको आवश्यकता अझै पनि उच्च रहेको बताएका छन्।
प्रतिक्रिया