१३ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा दुई जना पक्राउ

१३ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा दुई जना पक्राउ

दैलेख -  साउन २२ गते दैलेखको चामुण्डा बिन्द्रासैनी नगरपालिकामा तिजको नाच हेरेर फर्कदै गरेकी १३ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा प्रहरीले दुई जनालाई पक्राउ गरेको छ।

पक्राउ पर्नेमा चामुण्डा बिन्द्रासैनी नगरपालिका–८ का २३ वर्षीय गोविन्दबहादुर शाही र २५ वर्षीय खगेन्द्र भण्डारी रहेका छन्। जिल्ला प्रहरी कार्यालय, दैलेखका प्रहरी निरीक्षक लालबहादुर सुनारका अनुसार उनीहरूले ती बालिकालाई लखेटेर पालैपालो बलात्कार गरेका थिए।

प्रहरीको अनुसन्धानबाट खुलेअनुसार साउन २२ गते राति तीजको नाच हेरेर साथीहरूसँग घर फर्कंदै गरेकी बालिकाको समूहलाई गोविन्दबहादुर शाही र खगेन्द्र भण्डारीले पछ्याएका थिए। उनीहरूले पछ्याएको चाल पाएपछि किशोरीहरू भागेका थिए, तर आरोपीहरूले उनीहरूलाई लखेट्न छाडेनन्। लखेट्ने क्रममा उनीहरूले एक बालिकालाई ढुङ्गाले हानेका थिए। ढुङ्गा लागेर उनको हातमा चोट लाग्यो र उनी धेरै भाग्न सकिनन्।

ढुङ्गाले लागेर ढलेकी बालिकालाई एकान्तमा लगेर दुवै जनाले पालैपालो बलात्कार गरेको प्रहरीले जनाएको छ। घटना लगत्तै भागेर ज्यान जोगाएका अन्य किशोरीहरूले घरमा जानकारी दिएपछि अभिभावक घटनास्थल पुगेका थिए। अभिभावक आएको थाहा पाएपछि आरोपीहरू बालिकालाई बेहोस अवस्थामा छाडेर भागेका थिए।

घटना भएको दिन नै बालिकालाई उपचारका लागि जिल्ला अस्पताल दैलेख पुर्‍याइएको थियो। चिकित्सकका अनुसार बालिकाको दाहिने हात मर्केको छ र गुप्ताङ्गमा चोट लागेको छ।

पीडित परिवारले शुक्रबार प्रहरीमा जाहेरी दिएपछि सोही जाहेरीका आधारमा आरोपीहरूलाई पक्राउ गरिएको हो। हाल बालिकाको अवस्था सामान्य हुँदै गएको र जिल्ला अस्पताल दैलेखमा उनको उपचार भइरहेको प्रहरीले जनाएको छ। 

जाहेरी लेखन र प्रहरीको स्वास्थ्य चेकजाँच पछि पीडित बालिका र परिवारलाई सोसेक नेपालको आश्रय सेवामा सुरक्षित आवास सेवा लिइरहेको अवस्थामा थप व्यक्तिगत तथा पारिवारिक मनोसामाजिक,मनोपरामर्श सेवा, औषधि उपचार सेवा उपलब्ध गराई परिवारमा पुनः मिलन र पुनः मिलनको लागि यातायातको सहयोग सोसेक नेपाल दैलेखले गरेको थियो । 

प्रतिक्रिया